मुद्दा फिता लिन नमानेपछि झापामा पूर्व शिक्षकले हाने छात्रामाथि गोली

झापा । झापाको दमकमा आज (शुक्रबार) एक छात्रामाथि गोली प्रहार भएको छ । छात्रामाथि गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ । शुक्रबार दिउँसो दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि उदयपुरको लिङचुङबुङ गाउँपालिका–३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो ।

शुक्रबार परीक्षा दिएर फर्किदै गरेकी एनिकालाई मध्यान्ह १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् । उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन् । प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छिन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् । प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ ।

नाभी छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा एनिकाले २०७९ मा उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि नै यादव फरार भएका थिए ।

तर पछिल्लो समय उनले एनिकालाई उक्त उजुरी फिर्ता लिन दबाब दिइरहेको खुलेको छ । एनिकाले उजुरी फिर्ता लिन नमानेका कारण गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । एनिकाले आफूलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको सूचना प्रहरीलाई दिएकी छन् । गोली प्रहारमा संलग्न व्यक्ति फरार छन् । फरार यादवको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित