डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Nara_Kumari_Khatri_photo_with_news_Khotang_JTeMpt3JA1_DZGhKRt3cS_0ibg95256zglfizimsflh0wq6pntjpnzgwxbb98spm5hmib8gkvt1xskmc9o_h0Cv6GE9de_cfw2gh54evef9ydltarscgyd7qpgesrnorjytiojgjxyhigb1yaut7zm1diy.jpg)
खोटाङ - तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन् । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन् ।
आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन । धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छन् ।
नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढ्छन् । भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् ।
पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताइन् । “एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो । दिक्तेल बजारमा सालको पात प्रतिमुठा रु ५० मा बिक्री हुन्छ । अहिले डढेलोले जङ्गल सखाप पार्यो”, उनले भनिन्, “सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ । डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ । गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ।”
त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ । कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए । विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन् ।
गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ । छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ ।
सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो । उपचारमा अस्पतालले रु सात लाख ५० हजार लियो । “जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ । अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा रु १६ लाख सकियो,” उनले भनिन्, “काठमाडौँको तीन/चारवटा अस्पताल डुलाउँदा रु १६ लाख सकियो । घरमा एक रुपैयाँ थिएन । सबै ऋण काढेर उपचार गर्यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ ।”
छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो । ऋण तिर्न विदेश गएका श्रीमान् दुर्घटनामा परी उतै घाइते भए । घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ ।
नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा छन् । ‘स्काफोल्डिङ’को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुगेका दानबहादुर सात महिना नबित्दै लडेर घाइते भएका थिए । काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ । तीन वर्षसम्म अस्पताल बसेर उपचार गराएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ ।
“कमाउन विदेश गएका श्रीमान् बिरामी छन् । कलकलाउँदा उमेरका तीन छोराछोरी छन् । अहिले त सानो बाबु पनि ठीक हुँदैछ”, गहभरी आँसु पार्दै उनले भनिन्, “बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न धौ-धौ छ । सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो ।”
छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उनलाई रातभर निन्द्रा लाग्दैन । कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ । कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।
![विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi-1_2bgRpbmYg5_ngo05ybuivakrmwh1tb7vtdvcdj3cfzghtccbjmdsohi2yqepqxbzm1bxxxv_EpoqHsoUgx_dyhdslmrw6iivfzcugdp05k4yevda7jxcdb0eij2exsv4g4j8otwuctvawfo.jpg)
विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते
![वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Karnali-b_IX7op7bpG1_o4r5lyufc7d6t9pfjgfg7p0opl2hoqwlyifahclwm1ikjpvrvmdloflqmys6_sGGQxPFYc8_k9himjfsea23jleui739jvjczqagdmhu2amkohgi0tesjxnqs21p1sra6tw4.jpg)
वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध
![आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/duban-kailali-bhajani_lF17G04QKz_omvhi5jjmaayftt0092bfpuke1mnhshrgi5icxa1v8fyzbbsiqaqt3q48blk_gJ3FCuiKpD_8hrxyfxvnjvjrnbqkpymoxswdaodzlla0zfdqylfzn5tzdride837wfdprhu.jpg)
आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अ…
![महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/sandhyaa_knhl82qiAP_8qlwixl3mszf3atxcc2hp7yj2tsq5hyr6vatoblntdblxc3zf09qtertgtaj_O7Hr696295_xh8mygwsxexuzvh9gtgvl4bt2ztmeqjiijtu1ojuctiost2uzlu4kbgv2kta.png)
महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा
![अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Tamor-flood__u8vF85asIv_es5ioylc9gyswyc0bafz86kth3zqkndklarutypok7a36uojsxnvnniqmjpt_mw2JGGjUaO_q2qomzxtox6xpn60wkasp9mqwohheh0hzc46vflfgd54ihsstxx5bvw9jzh8.jpg)
अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन…
![बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कहा छ अवरूद्ध ?](https://snowberry.prixacdn.net/media/gallery_folder/road_ol2fs7PamI_eam9la8i104v9f2uwis6nx5zgldztmylbqh4wnncxbmvazmp7tvt1frk9pmz_3gW4mUF6Ih_b28ekmbkctulx4xlilhlmmpfdfujqy2ny9chk8hppwv7r4fcs9kdknvl9qqm.jpg)
बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कह…
![खसी, बोका बिकेनन् : धरान कृिष बजार ल्याउनुस ....](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan_jlt06Dujwv_gdb9oy1tyddloyczcamwrdroyi6tydqwzhbhcgcjfpvd2r51vnsygguqml0e_ek1GmaFvXQ_brrovqv4ymihrburshbn7rcsvvnqvzlzdeuvbpxeorngkfnmcd3aqyfdfjod.jpg)
प्रतिक्रिया