१७ जना आरोहीको मृत्यु पछि बाेल्याे सर्वाेच्च :‘रोयल्टीको नाममा थेग्नै नसक्ने आरोही पठाएर हिमाललाई अपमान र पीडा नदेऊ’

सगरमाथा आरोहणको सीमा तोक्न र चुलीमा हेलिकप्टर उडाउन पनि निषेध

इटहरी । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालहरूको आरोहणमा सीमा तोक्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले सामर्थ्यले भ्याउने संख्या र समय तोकेर मात्र आरोहण अनुमति दिन आदेश दिएको हो।

अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा निर्णय सुनाउँदै सर्वोच्चले आपतकालीन उद्धारको लागि बाहेक शिविरदेखि हिमचुलीको चुचुरोसम्म हेलिकप्टरको प्रयोगमा पनि रोक लगाएको छ।पर्यटन विभागका अनुसार, गत वर्ष (सन् २०२३) सगरमाथामा मात्र नेपालतर्फबाट ४ सय ७८ जनाले आरोहण अनुमति लिएका थिए। 

तीमध्ये २ सय ८७ जनाले सफल आरोहण गरेका थिए। उनीहरूलाई सघाउने सेर्पा टिममा ३ सय ५९ जना थिए। यी सबै जोड्दा सगरमाथाको चुचुरोमा पुग्नेको संख्या ६ सय ४६ जना हुन्छ। गत वर्ष सगरमाथा क्षेत्रमा १७ आरोहीको मृत्यु भएको थियो।सगरमाथासहित केही हिमालमा चीनतर्फबाट पनि आरोहण अनुमति दिने गरिएको छ।  

‘हिमाललाई यही स्वरूपमा आगामी पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ र यो अन्तरपुस्तीय समन्यायको अवधारणा हो,’ आदेशमा भनिएको छ, ‘हिमाललाई फोहोर राख्ने र रोयल्टीको नाममा हिमालहरूले थेग्नै नसक्ने गरी जतिसुकै संख्यालाई जुनसुकै समयमा पनि पर्वातारोहण गर्न दिनु हिमाललाई पीडा दिनु र अपमान गर्नु हो। उसको आत्मसम्मानमा आघात पार्नु हो।’

पर्वतारोहण दलका सदस्यहरूले आफूसँग लैजाने सामानहरूको सूची तयार गरी पर्वतारोहणको प्रस्थानबिन्दुमा टिपाउने र पर्वतारोहण गरी फर्कने क्रममा फिर्ता ल्याएका सामानहरू अनिवार्यरूपमा आगमन बिन्दुमा टिपाउने व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ।

प्रतिक्रिया

सम्बन्धित