इटहरी सहित तराईका पाँच स्थानमा सहनै नसक्ने गर्मी : तापक्रम नै ४० डिग्री सेल्सियस नाघ्यो ,

इटहरी । देशभर तापक्रम बढिरहेको छ। अत्यधिक गर्मीले विशेषगरी तराईको जनजीवन अचेल निकै कष्टकर भइरहेको छ। आज (आइतबार) तराईका पाँच क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज सबैभन्दा बढी तापक्रम रुपन्देहीको भैरहवामा ४२.८२ डिग्रीसेल्सियस पुगेको छ। यस्तै आज सुनसरीको धरानमा ४०, मोरङको विराटनगरमा ४०.२, बाराको सिमरामा ४०.३ र धनुषाको जनकपुरमा ४१.४ डिग्री सेल्सियस अधिकत तापक्रम भएको छ। 

यसैगरी आइतबार (आज) बाँकेको नेपालगन्जमा ३९.४ र कैलालीको धनगढीमा ३९ र डिग्री सेल्सियस अधिकत तापक्रम पुगेको छ। यस्तै आइतबार डोटीको दिपायल र सुर्खेतको वीरेन्द्रनगरमा अधिकतम तापक्रम समान ३७.२, दाङको घोराहीमा ३६.६ र कास्कीको पोखरामा ३४.४ डिग्री सेल्यिस मापन भएको छ।

यसैबीच काठमाडौँ उपत्यकामा समेत तापक्रम बढिरहेको छ। आज यहाँको अधिकतम ३३.३ डिग्री सेल्सियसमा उक्लिएको मौसम महाशाखाले जनाएको छ। शनिबार उपत्यकाको अधिकतम तापक्रम ३२.७ डिग्री सेल्सियस थियो। आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि १६ डिग्री सेल्सियसमा उक्लिएको छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस नाघ्नु भनेको बिहानैदेखि गर्मी हुनु हो।

प्रतिक्रिया

सम्बन्धित