सिरहाका १३ पालिका दमकलविहीन

सिरहा । यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ । 

यहाँका लहान, सिरहा, गोलबजार र मिर्चैया नगरपालिकामा मात्र दमकल सेवा उपलब्ध रहेको रेडक्रस जिल्ला शाखाका सभापति राजदेव यादवले जानकारी दिए । आगलागीका घटनामा ठूलो धनजनको क्षति हुँदै भए पनि दमकल खरिदमा जिल्लाका पालिकाले चासो दिन नसकेको उहाँको भनाइ छ ।

सहरी क्षेत्रको आगलागी नियन्त्रणमा प्रयोग हुने सबैभन्दा उपयोगी साधन दमकल भए पनि यहाँका नौवटै गाउँपालिकामा दमकल छैन भने बाँकी चार नगरपालिका पनि दमकलविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले पनि सहरी क्षेत्रका घरमा हुने आगलागीका ९५ प्रतिशत घटना दमकलको सहयोगमा नियन्त्रणमा आएको देखाउँछ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विपद् व्यवस्थापनका लागि अत्यावश्यक उपकरण दमकल सञ्चालनको जिम्मा स्थानीय तहलाई नै दिएको छ । त्यसअन्तर्गत पनि दमकल तयारी अवस्थामा राख्ने महत्वपूर्ण जिम्मेवारी स्थानीय तहको हो । राष्ट्रिय विपद् व्यवस्थापन तथा प्राधिकरण ऐन, २०७४ ले पनि दमकललगायतका उपकरण तयारी हालतमा राख्ने जिम्मा स्थानीय तहलाई नै सुम्पिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार जिल्लास्तरमा विपद् व्यवस्थापनसम्बन्धी कार्यका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा स्थानीय पालिकाको अध्यक्ष तथा प्रमुख, जिल्ला समन्वय समितिको प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको जिल्ला विपद् व्यवस्थापन समिति रहने व्यवस्था रहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित