कोरोना संक्रमणबाट मृत्यु भएका ३ जनाको हजार दिनपछि दाहसंस्कार!

एजेन्सी ।  भारतीय छत्तीसगढको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीन जनाको शवको हजार दिनपछि अन्तिम संस्कार गरिएको छ।बीबीसी हिन्दीका अनुसार राजधानीस्थित डा. भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा यी तीनै शव कंकालमा परिणत भएका थिए।

प्रशासनिक अधिकारीहरूका अनुसार गत महिना सबैभन्दा पहिले रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा बेवारिसे अवस्थामा तीन जनाको शव रहेको समाचार प्रकाशन गरेको थियो। त्यतिबेला ती शव महिला वा पुरुष कसका हुन् भन्ने पनि थाहा हुन सकेको थिएन। यो खबर सार्वजनिक भएपछि यस विषयमा अस्पताल व्यवस्थापनको पनि  ध्यानाकर्षण भयो।

खबरअनुसार कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने थियो। यसका लागि अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर अनुमति पाएको थिएन। त्यसैका कारण ती शव पीपीई किट सडेर बसेका थिए। समाचार बाहिरिएपछि पीपीई किट खोल्दा त्यसभित्र पर्चामा मृतकको जानकारी लेखिएको थियो।

उक्त पर्चाबाट मृत्यु हुने एक महिला रहेको खुलेको छ। यसपछि परिवार पहिचान गरी उनीहरूलाई यस विषयमा जानकारी गराइयो।बिहीबार परिवारको सहमतिमा तीनैवटा शवलाई कोरोनासँग सम्बन्धित प्रोटोकल अनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको छ। 

प्रतिक्रिया

सम्बन्धित