उपनिर्वाचन : इलामकाे सिमाना ३ दिन सिल गर्ने तयारी

इलाम । भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द गरिएको छ । मंगलबार साँझ ६ः १५ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरेको हो ।

पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै सीमा नाका सिल गरिएको हो । इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरु सिल भएको छ ।भारतको पश्चिम बंगाल राज्यमा ७ देखि १९ वैशाखसम्म लोकसभाको निर्वाचन ७ चरणमा भइरहेको छ ।

यता नेपालमा इलाम २ मा १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले बुधबार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ ।विगतको अभ्यास झैं सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका सिल गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

इलाम २ का कुनैपनि क्षेत्रले भारतीय सीमा भने छुदैन । भारतीय एसएसबी, बंगाल प्रहरी र भारतीय सीमा सुरक्षा प्रशासनसँग दुवै पक्षको निर्वाचन सुरक्षित बनाउन निरन्तर दोहोरो छलफल भइरहेको पशुपतिनगर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले  जानकारी दिए ।यी दुई निर्वाचनका कारण सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सतर्कता बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित