ढुक्क छन मुख्यमन्त्री कार्की : भन्छन– 'मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै हो'

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो मुख्यमन्त्री पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै भएको बताएका छन् ।

शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको भुटानी शरणार्थी शिविरमा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कुनै पनि कुरा अर्कै तरिकाले प्राप्त हुने भन्दै आफूलाई पनि गोमा ब्रह्माणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै मुख्यमन्त्री पद प्राप्त भएकाले सितिमितिले नजाने बताएका हुन् ।

‘यो पद सितिमिति जाँदैन, अविश्वास प्रस्ताव ल्याउने ठाउँ पनि छैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘अबको दुई वर्षसम्म आरामले जान्छ, तपाईंहरूको सेवा राम्ररी गर्न पाइन्छ, ढुक्क हुनुहोस्, जनताको सेवामा यो सरकार लाग्छ । जनताको भाग्य र भविष्यलाई यो सरकारले परिवर्तन गरेर अघि बढ्छ । तपाईंहरू सरकार परिवर्तन हुन्छ कि भनेर नबस्नुहोस् । म पदमा नभए पनि यो स्वास्थ्य चौकीलाई सधंै सहयोग गर्नेछु ।’

आफूले हात्तीमैत्री पदयात्राका क्रममा धेरै साथीलाई जंगलमै भेटेको भन्दै उनले जंगली हात्तीले नेपाली मा¥यो भने उसले क्षतिपूर्ति पाउने अनि आफ्नै देशमा आफ्नै भूमिमा भुटानको नागरिकता भएका मान्छेले क्षतिपूर्ति नपाउने, के भुटानी नागरिकता भएको मान्छे होइन र ? भनेर प्रश्न गरे ।

एक अर्को प्रसंगमा उनले कोशी प्रदेश लगानीमैत्री प्रदेश हुने बताउँदै भने, ‘विश्वभरि छरिएर रहेका नेपालीलाई दान, चन्दा दिन र फोटो खिचाउन मात्र नआउनुहोस्, लगानी गर्न मात्र आउनुहोस्, लगानी गर्नुहोस्, प्रदेश सरकारले नाफा दिन्छ, त्यहीं लगेर बाँड्नुहोस्, तर हामीलाई मगन्ते नबनाउनुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित