६ वर्षको ‘ग्याप’ पछि ‘पहाड’ मार्फत चलचित्रमा ‘कमब्याक’ गर्दै तुलसी घिमिरे

काठमाडौं । एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेका निर्देशक तुलसी घिमिरे नयाँ चलचित्रको तयारीमा छन् । पछिल्लो फिल्म ‘दर्पणछाया २’ बक्स अफिसमा कमजोर रहेपछि उनी केही समय सुस्ताएका थिए ।

करिब ६ वर्षको ‘ग्याप’ पछि उनी नयाँ चलचित्र ‘पहाड’ लिएर फर्किदै छन् । घिमिरेले लगातार केही फिल्म बनाउने तयारी गरिरहेका छन् र सम्भवतः आगामी दशैंबाट उनको पहिलो प्रोजेक्ट ‘पहाड’ को छायांकन सुरु हुनेछ । यो फिल्मको शीर्ष भूमिकामा विपिन कार्की निश्चित भएका छन् । विपिनले साइन गर्न मात्र बाँकी छ । यो फिल्मका लागि महजोडीलाई पनि प्रस्ताव गरिएको बताइएको छ ।

दशैंपछि छायांकन सुरु हुने फिल्म ‘पहाड’ मा विपिनले भारत कालिम्पोङको एक पात्रको भूमिका गर्दैछन् । निर्देशक घिमिरे पनि यतिबेला फिल्मको तयारीकै लागि कालिम्पोङतिर छन् । यो फिल्मबाट नयाँ अभिनेत्रीलाई ब्रेक दिने उनको तयारी छ । फिल्मले दिनानु दिन रित्तिँदै गइरहेका पहाडको कथा भन्नेछ । फिल्मको लेखन पनि घिमिरे स्वयंले गरिरहेका छन् । कलाकारको लाइनअप पूरा भएपछि फिल्मको औपचारिक घोषणा हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित