सद्दाम हुसेनकी नातिनीको यस्तो छ आलिसान जीवनशैली

एजेन्सी ।  हरीर हुसेन कमालको विगत रंगीन थियो। यति मात्रै भन्नु अल्पकथन हुन जान्छ। किनकि उनी इराकी शासक सद्दाम हुसेनकी नातिनी हुन्। अनेकौँ युद्ध अपराधको आरोप लागेका सद्दामलाई अमेरिकी नेतृत्वको आक्रमणले २००३ मा सत्ताच्यूत गरेको थियो भने २००६ मा उनको ज्यान लिइएको थियो।

सद्दामकी छोरी राहगद र उनका पति हुसेन कमाल अल माजिद १९९५ मा परिवारका सदस्यसहित इराकबाट भागेका थिए। छोरी हरीरलाई पनि उनीहरूले साथै लगे। उनीहरूलाई जोर्डनले शरण दियो। पछिल्लो पछक हरीर दुबईमा एक समारोहमा देखिएकी छिन्।

उनले आफ्नो इन्स्टाग्रममा एक पार्टीको भिडिओ पोस्ट गरेकी छन्। यसअघि लामो समयसम्म उनी सार्वजनिक रुपमा देखिएकी थिइनन्। उनको जीवनबारे पनि निकै कम जानकारी सार्वजनिक छन्। यद्यपि, उनीबारे सञ्चारमाध्यममा आएका खबर र सामाजिक सञ्जालमा देखिएको चासोले हुसेन परिवारको प्रभाव अझै व्यापक छ भन्ने देखाउँछ।

हरीरकी आमा राहगद हुसेन सद्दामकी छोरी हुन्। सद्दामका ज्वाइँ हुसेन कमाल अल माजिद १९९५ मा इराक छाडेर भाग्नुअघि सद्दामपछिका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे। एक वर्षपछि १९९६ मा उनी देश फर्किन तयार भए। उनीलाई माफी दिने बताइएको थियो। तर, फर्केलगत्तै उनी मारिए। कसरी मारिए, अझै स्पष्ट छैन।

२०२१ मा अल अरबिया न्युजसँगको अन्तर्वार्तामा राहगदले जोर्डनअघि सिरियामा बस्दाको कथा सुनाएकी छन्। उनको परिवारलाई जोर्डनका राजाले संरक्षण दिएको बताइन्छ। 

उनले हजुरबा सद्दाम हुसेनको पनि बचाउ गर्ने गरेकी छन्। ‘म तपाईंलाई माया गर्छु र म तपाईंमा गर्व गर्छु, आज, भोलि र सधैँ,’ उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘सबैभन्दा शक्तिशाली मान्छे, मेरो नेता, हजुरबा र लडाकु नायक सद्दाम हुसेन, तपाईंमा ईश्वरको कृपा रहोस्!’

उनकी आमा राहगदले इराक फर्किने चाहना व्यक्त गरेकी छन्। त्यति मात्र होइन, राजनीतिमा प्रवेश गर्न पनि आफू खुला रहेको उनको भनाइ छ। तर, उनीसामु अनेकौँ अवरोध छन्। कतिपयले उनले अतिवादी समूहहरूलाई पैसा दिएको आरोप पनि लगाएका छन्।

गत वर्ष इराकको एउटा अदालतले राहगदलाई सात वर्ष जेल सजाय सुनाएको थियो। सद्दामको पार्टीलाई प्रबद्र्धन गरेको आरोप उनलाई लगाइएको थियो। सद्दाम सत्ताच्यूत भएपछि उनको बाथ पार्टीमाथि प्रतिबन्ध लगाइएको छ।

हरीर सामाजिक सञ्जालमा आफ्नी आमाप्रतिको माया प्रकट गरिरहेकी हुन्छिन्। बुवाको भूमिका पनि निर्वाह गरेकामा उनले धन्यवाद दिएकी छन्। सद्दामको स्मृति दिवसमा वर्षैपिच्छे राहगदले दिने सन्देशलाई पनि हरीर समर्थन गर्छिन्।हुसेन परिवार अझै पनि जोर्डनको शाही परिवारको आतिथ्यमै रहेको बताइन्छ। जोर्डनका राजा अब्दुल्लाहसँग ७५ करोड डलर सम्पत्ति छ।

हरीरको इन्स्टाग्राम हेर्दा मात्रै पनि उनको परिवारले विलासी जीवनयापन गरिरहेको थाहा हुन्छ। उनी निसंकोच जन्मदिनमा महँगा केक र अन्य परिवार प्रदर्शन गर्छिन्, डिजाइनर पहिरन लगाउँछिन् र आफ्नो भव्य जीवनशैली प्रदर्शन गर्छिन्। उनले विवाह गरिसकेकी छन्। तर, आफ्नो पतिको नाम सार्वजनिक गरेकी छैनन्। यद्यपि, पतिको तस्बिर भने पोस्ट गर्छिन्। एससीएमपीबाट

प्रतिक्रिया

सम्बन्धित