बिराटनगरमा वारुणयन्त्रको आकस्मिक अनुगमन :  चुस्तदुरुस्त राख्न मेयर कोइरालाकाे निर्देशन

 विराटनगर ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गर्नुभएको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिनुभयो ।

कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलमा पुग्न निर्देशन दिनुभएको थियो । मेयर कोइरालालाई वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालिरहनुभएका महानगर प्रहरीका प्रमुख राजन पौडेलले दमकलको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

महानगरसित भएको तीनवटै दमकल चुस्तदुरुस्त रहेको पौडेलले बताउनुभयो । महानगरसित ५ हजार लिटर क्षमताको दुईवटा र ३ हजार क्षमताको एउटा दमकल रहेको छ । जसमा ५ हजार लिटरका दुईवटा पुष्पलालचोकमा राख्ने गरिएको छ भने ३ हजार लिटरको विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राख्ने गरिएको उहाँले बताउनुभयो । 

महानगरले दमकलमा पानी भर्नका लागि केही महिना अगाडि सन्सारीमाईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारीमाईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र ७–८ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइरहेको मेयर कोइरालाले जानकारी दिनुभयो । अनुगमनका क्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको पनि सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित