मदिराकाण्डमा राजेशपायलको टिप्पणीः शिव भगवान्‌ पनि जीवित भएका भए पक्राउ पर्थे

इटहरी ।  गायक राजेशपायल राईले मदिरा पिएर होहल्ला गरेको आरोपमा आफू पक्राउ परेको विषयमा पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका छन्। यही चैत २२ गते राति मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राईलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरी भोलिपल्ट आइन्दा त्यस्तो नगर्ने सर्तमा छाडेको थियो।

यस विषयमा गायक राईले पहिलोपटक सञ्चारमाध्यममा प्रतिक्रिया दिएका हुन्। हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफूलाई पक्राउ गर्ने प्रहरीप्रति असन्तुष्टि पोखेका हुन्। कार्यक्रम सञ्चालक टीकाराम यात्रीले सार्वजनिक गरेको अन्तर्वाताको छोटो भिडिओ क्लिप्समा उनले भनेका छन्, ‘यहाँ त शिव भगवान्‌ले भाङ धतुरो खान्छ, गाँजा खान्छ।

उहाँ जीवित भएको भए त वन्यजन्तु आरक्षणले बाघको छाला काढेकोमा जेल हाल्छ। भगवानलाई पनि जेल हाल्न तयार छन् यी मान्छेहरू। म त मान्छे हो।’ उनले अगाडि भनेका छन्, ‘चारचारवटा भ्यान ल्याउनुपर्छ २ बजे हो भन्देखि! ६ जना मान्छेलाई त एउटा भ्यानले पुगिहाल्छ नि!’ आफूलाई पक्राउ गर्ने बेला प्रहरीलाई जवाफ दिएको कुरा पनि उनले सुनाएका छन्।

‘मैले डीएसपी साबलाई पनि भनेँ, बुढाथोकी सर हुनुहुन्थ्यो, यो चिजचैँ तपाईंहरूलाई एकदम फुली बढ्छजस्तो, छाती चौडा भयो त? तपाईंको शिर झुक्दैन? न्युज लेखाउँदा पनि एकदम मत्थु मातेको थियो भन्दा मजा आयो?’ गायक राईसँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे प्रसारण हुने जानकारी सञ्चालक यात्रीले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित