राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चतरामा महाकुम्भकाे उदघाटन

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु हाे

सुनसरी । बराहक्षेत्र नगरपालिकाको चतराधाममा आजदेखि सुरु भएको महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

१२ वर्षमा लाग्ने मेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताए ।

'जनता आफैँले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ', उनले भने, 'यो दर्शनलाई आत्मसात् गर्दै राजनीतिमा जो–जो जताजता भए पनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ ।'

उनले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गरे । 

आउँदो वैशाख २८ गतेसम्म चल्ने मेलामा ३० लाख जना भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भ मेला क्षेत्रमा झन्डै पाँचसय व्यापारिक स्टल रहनेछन् ।

कुम्भ मेलाका क्रममा ४० दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री÷वितरण गर्न रोक लगाइएको छ ।चतराधाममा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो ।

जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।

हनुमान कथा वाचन

महाकुम्भकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि आजबाट नवरात्र अनुष्ठान सुरु गरेको छ ।अनुष्ठानअन्तर्गत रामचरित मानस नवपाठ परायण, वाल्मीकि रामायणपाठ, दुर्गासप्तसती चण्डीपाठ, राम पञ्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचनलगायत कार्यक्रम सुरु गरेको छ ।

पीठले वैशाख १ देखि सङ्कटमोचन श्रीहनुमद महायज्ञ गर्ने र वैशाख ५ मा पीठको निमन्त्रणमा भारतको बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम छ । शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथा वाचन गर्ने आयोजकले जनाएको छ ।

तस्विरहरू : मणिराम दाहाल

प्रतिक्रिया

सम्बन्धित