प्याराडाइज स्कुलको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

गुरुकुल व्यवस्थापन सँगै नयाँ ऊर्जा थपिने विश्वास

इटहरी । सुनसरीको इटहरी २० तरहरास्थित प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलले सोमबार  २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । स्कुलका संस्थापक संरक्षक दिलकुमार बनको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजी विद्यालयको हकमा प्याराडाइज स्कुलले छुट्टै पहिचान बनाउन सफल बनेकोमा शुभकामना व्यक्त गरिन ।

उनले गुरुकुल व्यवस्थापनमा गएपछि स्कुलले थप ऊर्जा प्राप्त गर्ने र नयाँ पद्धतिबाट अध्ययन सुरु हुने बताइन । अहिले नेपालमा बसेर काम छैन भन्ने भाष्य जताततै व्याप्त भएको र यो सत्य नभएको अनि अब त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने झाक्रीकाे भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि गुरुकुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद थपलियाले गुरुकुलको व्यवस्थापनमा रहेर प्याराडाईजले विश्व श्रम बजारको प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति उत्पादन गर्न कटिबद्ध रहेको उल्लेख गरे ।

त्यस्तै विद्यालयको प्रिन्सिपल कृष्ण नेपालले सामान्यतया  परिवेशमा  पढाइको नाममा बालबालिकालाई अनावश्यक दबाब दिएर बालपन खोस्ने काम गरिएको भन्दै प्याराडाईजले Gamification Approach बाट रमाई रमाई सिक्ने र कलिलो बालमष्तिष्कलाई बोझ नपर्ने खालको शिक्षा पद्धति लागू गरिने बताए ।

रोबोटबाट स्वागत मन्तव्य सहित सुरु गरिएको कार्यक्रममा ७ सय बढी अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कोसेलीहरू पनि प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू गरिरहँदा उपस्थित अभिभावक तथा अतिथिहरूले प्रफुल्लित हुँदै तालीले स्वागत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित