कोशीका मुख्यमन्त्री कार्कीले डेढ महिनापछि मात्र संसद बोलाउने

इटहरी । कोशीमा राजनीतिक घटना क्रम तीव्र रुपमा विकास भइरहेको छ । सोमबार सुरुमा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि फिर्ता हुने निर्णय लियो । त्यसपछि एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ताको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गरायो ।

यहीबीच प्रदेशसभाको विशेष अधिवेशन बोलाउन र वैकल्पिक सरकार गठबनको प्रक्रिया सुरु गर्न भन्दै एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष निवेदन दिए । उता मुख्यमन्त्री कार्कीले पनि २०८१ जेठ ११ गते संसदको नियमित अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । कार्की सरकारले शुक्रबारका लागि प्रदेश अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।

एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष माग गरेपछि प्रदेश सरकारले हतार–हतार डेढ महिनापछिका लागि प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको हो । मुख्यमन्त्री कार्यालयबाट सिफारिस पत्रमा चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको उल्लेख छ ।

यसअघि एमाले माओवादीका ५३ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गर्दै आजै प्रदेश प्रमुख खापुङसमक्ष विशेष अधिवेशनको माग गरेका हुन् । एमाले माओवादी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित