इटहरीमा अवैध म्यानपावर छ्यापछ्याप्ती : कार्वाहीमा परेका शाखाहरूकै रजगज ,ठगिदै सर्वसाधरण

कता हरायाे फि भिसा र फ्रि टिकट याेजना ?

इटहरी ।  सम्बन्धित सरोकारवालाहरूले नियमित अनुगमन र चासो नराख्दा इटहरीमा अवैध म्यानपावरहरू खुल्ने क्रम बढ्दो छ । २०७७ ।७८ मा इटहरी भित्र ७३ वटा म्यानपावरका शाखाहरू सञ्चालनमा थिए भने सो सङ्ख्या ८०।८१ मा आइपुग्दा दुई गुणा बढेको पाइएको छ । वैदेशिक रोजगार सङ्घ सुनसरीका अनुसार हाल इटहरीमा २१५ वटा भन्दा बढी म्यानपावरहरू सञ्चालित छन् ।

तर सबै   शाखाहरू नियम सङ्गत छैनन् । इटहरीको धरान रोडमा मात्रै ४२ वटा वैदेशिक रोजगार कम्पनीका शाखाहरू सञ्चालनमा छन् । गएको ८० वैशाख दोस्रो साता वैदेशिक रोजगार विभाग ,श्रम कार्यालय विराटनगर , जिल्ला प्रशासन कार्यालय सुनसरी लगायतले संयुक्त अनुगमन गर्दा इटहरीमा अधिकांश म्यानपावर अवैध ठहरिएका थिए । ९ वटा अनुगमन गर्दा ५ वटा अवैध भेटिनुकासाथै ३ वटामा सिल नै गरिएको थियो ।

वैदेशिक रोजगार विभागका निर्देशक कृष्ण प्रसाद भुसालको नेतृत्वमा भएको अनुगमनमा इटहरीको धरान रोड , विराटनगर लाइन , टेङ्ग्रा पारी , गोरखा गल्ली लगायतका स्थानमा सञ्चालित म्यानपावरका शाखाहरूमा अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा महेश थापाद्वारा सञ्चालित एडभान्स म्यानपावर , विदुर गुरुङको वर्ल्ड एन्ड वर्ल्ड म्यानपावर , टिकाराम घिमिरेले सञ्चालन गरेको डिलक्स  परि म्यानपावर , त्यसै गरी मोभिरा एच आर ओभरसिज र ब्रिज स्काइ इन्टरनेशनलमा ताला लगाइएको थियो ।

जसमा मोभिरा एच आर र ब्रिज स्काइ इन्टरनेश्नललाइ सिल नै गरिएको थियो । त्यस्तै गएको ७८ असारमा अनुगमन हुँदा पनि मोभिरालाइ ताला लगाएर विभाग बोलाइएको थियो । एक वर्ष अघि सिल भएका यी म्यानपावर कम्पनीहरू अहिले निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । अनुगमन आउँदा ताला लगाएर जान्छ त्यसको भोलिपल्टै उहाँहरूले फुटाएर पहिले जस्तै सञ्चालन गर्नुहुन्छ एक म्यानपावर व्यवसायीले आफ्नो नाम नबताउने सर्तमा बताए ।

यता वैदेशिक रोजगार सङ्घ सुनसरीका अध्यक्ष दुर्गा थापाका अनुसार इटहरीमा अवैध म्यानपावरका कारण आफूहरूलाई पनि काम गर्न अफ्ठेरो भइरहेको बताउँछन् । यस अघि सङ्घमा भक्त लामा अध्यक्ष थिए । लामा इटहरी ४ का वडाध्यक्षमा निर्वाचित भएपछि थापालाई सङ्घको जिम्मेवार दिएका थिए । उनै थापालाई सम्पर्क गर्दा पटक पटक अनुगमन गर्दा पनि नसुध्रिने व्यवसायीहरूलाई समातेर कानुन सम्मत सजाय दिलाइनुपर्ने बताए । उनले अवैधानिक मेन पावरका कारण वैधानिक पाएका म्यानपावरका शाखाहरू बदनाम हुने गरेको बताउँदै त्यस्ता गैर कानुनी व्यवसाय गर्नेहरूलाई राज्यले छानी छानी कानुनको दायरामा ल्याउनुपर्ने बताए । 

यता वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत चक्रबहादुर श्रेष्ठ सँग सम्पर्क गर्दा उनले इटहरी मात्र नभई कोशी प्रदेशमै यस्तो गुनासो आइरहेको बताए । उनले अनुगमन गर्ने विषयमा आफुहरू सतर्क साथसाथै नियमित गर्ने बताए । कोसी प्रदेशमा मात्र गएको ७९ ।८० मा २६३ भन्दा बढी म्यानपावर कम्पनीका शाखाहरूलाई कार्वाहि गरिसकेको उनले बताए । अधिकृत श्रेष्ठले इटहरीको हकमा सिल गरिसकेको म्यानपावरका शाखा सञ्चालन भएको पाइए कानुन अनुसारको सजाय भोग्न तयार रहनुपर्ने चेतावनी दिए । 

ठगिँदै सर्वसाधारण 

इटहरीमा बाहिर एउटा बोर्ड राखेर भित्र अर्कै नाममा सञ्चालन हुने म्यानपावरका शाखाहरू पनि थुप्रै रहेका छन् । यस्ता म्यानपावरहरूका कारण वर्षेनी २६ हजार युवा युवतीहरू ठगिने क्रम बढ्दो रहेको श्रम कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । इटहरी चारैतिरको सङ्गम स्थल भएकै कारण विशेष गरी पहाडी भेगबाट आएका युवा युवतीहरू ठगिने गरेको तथ्याङ्कमा उल्लेख छ । अनुगमनकै क्रममा  अधिकांश शाखाहरूले हुँदै नभएको अरू विदेशी कम्पनीको डिमान्ड चोरी गरी सूचना निकाल्दै सर्वसाधारणलाई ठग्ने गरेको भेटिएको थियो । 

वैदेशिक रोजगार सङ्घ सुनसरीका पूर्व अध्यक्ष तथा इटहरी ४ का वडाध्यक्ष भक्त लामाका अनुसार राज्यबाटै वैदेशिक रोजगार ब्यवसायहरूकालागि ठोस कानुन निर्धारित नहुँदा यो समस्या देखिएको बताए । अवैध म्यानपावर इटहरीमा छैन भन्दिन तर तिनीहरूलाई पटक पटक अनुगमन गर्दै छाडने काम विभागबाटै हुने गरेको  छ उनले भने । 

फ्री भिसा फ्री टिकट कार्यान्वयन छैन 

इटहरीमा सञ्चालित म्यानपावर शाखाहरूले सरकारले विभिन्न ७ मुलुकहरूमा फ्री भिसा र टिकटमा नेपाली कामदार पठाउने निर्णय गरे पनि अहिलेसम्म सो निर्णय कार्यान्वयन गर्न सकेका छैनन् । निर्णय कार्यान्वयन नगर्दा चर्को मूल्य तिर्नु परिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।सरकारले खाडी मुलुकहरू साउदी , कतार , मलेसिया, लगायतमा फ्री भिसा ,फ्री टिकटको घोषणा गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित