उपमहानगरको टेङ्ग्रा करिडोर योजना : नक्सा पास बिनै ठडियो ६४ संरचना : खाेलाकाे जग्गामा बिद्यालय भवन देखि चर्ज सम्म

कसैको सुन्दिन ड्रोजर लगाएर भत्काउँछु : मेयर पौडेल

इटहरी । इटहरी उपमहानगरले ड्रिम प्रोजेक्ट मानेको टेङ्ग्रा करिडोर निर्माण अभियानलाई तीव्रता दिएको छ । गत मङ्गलवार देखि सुरु भएको प्रोजेक्ट अभियान अन्तरगत एक साता आइपुग्दा झन्डै २ किलोमिटर खोला सफाइ भएको छ ।

उपमहानगरले गएको मङ्गलवार देखि इटहरी २ स्थित टेङ्ग्रा खोलाको सिरानबाट सुरु भएको अभियान २ किलोमिटर पुग्दा १९ वटा संरचना भत्काएको जनाएको छ । पटक पटक सार्वजनिक सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि खोलाको जग्गामा उपमहानगरले ड्रोजर चलाएको थियो ।

अहिले सो क्षेत्रमा ३ स्काभेटर , २ वटा जेसिबी केही ट्याक्टर र ट्रिपर परिचालन गरेर खोला सफाइ अभियानलाई तीव्र बनाइएको उपमहानगरका प्रशासन शाखा प्रमुख सञ्जीव खडकाले बताए । खोला सफाइ अभियानमा ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेर काम गरिरहेको प्रमुख खडकाले बताए । उनले हाल सो क्षेत्रमा २४ जना प्राविधिक टोली , ३६ जना नगर प्रहरी र ५ जना नेपाल प्रहरी समेत खटिएको बताए ।

खोलाको भाग सफाइ गर्ने क्रममा १ दर्जन बढी चौपायाका गोठहरू भत्काइएको छ भने ९ हजार घना  भन्दा बढी बासका झ्याङहरू फाँडिएको टेङ्ग्रा सफाइ अभियानका संयोजक तथा उपमहानगरको वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले बताए ।

चौधरीका अनुसार वडा नं २ को काम सकिएर ३ नं क्षेत्रमा प्रवेश गरी काम अघि बढाइएको छ । गएको ६ महिना यता नै खोलाको सीमा निर्धारण गरी अवैध संरचना हटाउन ४ पटक सम्म म्याद थपेर सूचना जारी गरिएको थियो । मङ्गलवार भने उपमहानगरका मेयर पौडेल सहितको विज्ञ टोली ,स्थानीय जनाप्रतिनिधीहरू ,प्रहरी प्रशासन र नगर प्रहरी सहितले स्थलगत नापजाच गरी अवैध संरचना हटाउन थालिएको हो ।

नक्सा पास बिनै ठडियो ६४ वटा संरचना

यसै बिच सफाइ अभियान चलिरहँदा खोलाको जग्गा अतिक्रमण गरी बनाइएका ७६ वटा भौतिक संरचना मध्ये ६४ वटा नक्सा पास बिनै बनाइएको भेटिएको छ । अहिले खोलाको बिच भागबाट दुवै तर्फ ६ –६ मिटर कायम हुने गरी सफाइ अभियान चलिरहेको उपमहानगरले जनाएको छ ।

खोला क्षेत्रमा डोजर चलाउनु अघि अध्ययन समिति बनाइएको थियो । खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका र सो कार्यदल अन्तर्गतको उपसमितिमा रहेका प्राविधिक टोलीले टेँग्राखोलाको मुहान देखी दक्षिणी सीमा सम्म नाप जाँच सुरु गरेको थियो । नाप जाँचकै क्रममा खोलाको जग्गा मिचेर कुल ७६ वटा भौतिक संरचना निर्माण गरेको जसमा ६४ वटा संरचना नक्सा पास बिनै निर्माण गरेको कार्यदलले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार खोलाको जग्गामा नक्सा पासै नगरी २२ वटा आर सी सी भवन बनाइएको छ । त्यस्तै २ वटा चर्ज , विद्यालय भवन , र धेरै जसो स्थानीयहरू आफैले घर बनाएको पाइएको छ । खोला सफाइ अभियानका संयोजक तथा उपमहानगरका वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीका अनुसार इटहरी ३ , ४ र ६ नं क्षेत्रमा बढी जसो खोलाको जग्गा मिचिएको छ । यही गतिमा काम चलिरहे मुख्य टेङ्ग्रा पुल सम्म पुग्न २० दिन लाग्ने चौधरीको भनाइ छ ।

कसैको सुन्दिन – मेयर पौडेल

यसै बिच इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले खोलाको जग्गा अतिक्रमण गरेर ठडिएका भौतिक संरचनाहरूमा ड्रोजर चल्न सुरु भइसकेकोले कसेको कुरा नसुन्ने बताएका छन् ।

खोला सफाइ सँगै उपमहानगरको ड्रिम प्रोजेक्ट टेङ्ग्रा करिडोर निर्माणमा आफू लागि सकेकोले कसैलाई छुट नहुने मेयर पौडेलले बताए । उनले टेङ्ग्रा मात्र नभएर सार्वजनिक सम्पती मिचेर बनाइएको सबै संरचनाहरूमा ड्रोजर चल्ने दाबी गरे ।

भरसक तपाइहरू आफै भत्काउनुस् नभए उपमहानगरले बल प्रयोग गरेर भए पनि भत्काउँछ भत्काउँछ मेयर पौडेलले भने । उनले खाेलाकाे जग्गा मिच्ने जाे काेहिकाे पनि भवन भत्काइने बताए । टेंग्रा करिडाेर सकिए लगत्तै खेती खाेला , सुकुमारी लगायतका खाेला एवम पैनीहरूमा पनि सफाइ अभियान सञ्चालन हुने बताउदै मेयर पाैडेलले त्यस क्षेत्रमा पनि ड्राेजर चल्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित