विराट गाेल्डकप : भुटान आरटिएफसी क्लबकाे विजयी शुरूवात

सुन्दरहरैँचा / विराटनगरमा सुरू भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली भुटानकाे रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विजयी शुरूवात गरेको छ ।  

  विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट बिहिवार देखि शुरू भएको रात्रीकालिन गोल्डकपको उदघाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसी क्वाटरफाइनलमा प्रवेश गरेको हाे । जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान १–१ गोल गरे । पहिलो हाफको ३६ औ मिनेटमा  केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दामा गोलमा परिणत भयो । आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औं मिनेटमा सिद्धार्थ गुरूङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे । 

  पहिलो हाफमा दुई गोल खाएपछि दवाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरन बाध्य भयो । 

  खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभूवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाण्डौं बीच हुने आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । उनले चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको उल्लेख गरे । 

   गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार  दिने गाेल्डकपका अध्यक्ष शाहीले बताए । 

  विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरू  गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो। गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो। विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित