आठौं संस्करणको रात्रीकालिन विराट गोल्डकप आज देखि : उदघाटन खेलमा भुटान र नेपाल पुलिस भिडने

मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे विराटनगर स्थित सहिद रंगशालामा आज देखि आठौं संस्करणको रात्रिकालिन विराट गोल्डकप हुने भएको छ । प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनु भयाे । उहाँले उदघाटन खेलमा आमन्त्रित टोली आरटीसी फुटबल क्लव थिम्पु भुटान तथा विभागीय टोली नेपाल पुलिसबीच भिडने तय भएको उल्लेख गर्नु भयाे ।

गोल्डकप प्रतियोगिताका लागि आयोजकको तर्फबाट सांग्रिला मोरङ फुटवल एसोसिएशन सहित नेपाल भारत , भुटानका १० वटा टिमले प्रतिष्पर्दा गर्ने भएका छन् । प्रतियोगितामा भारतका दुईवटा आमन्त्रित क्लवहरू साउथर्न समिति फुटबल संघ कोलकाता भारत र सिक्किम ड्रागन फुटबल क्लव सिक्किम खेल्दैछन् । पुलिस सहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ए डिभिजन क्लवहरू मच्छिन्द्र फुटबल क्लव, एनआरटी क्लव र चर्च व्वाइज फुटबल क्लबबीचको प्रतिष्पर्धाले दर्शकलाई पूर्ण रूपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले उल्लेख गर्नु भयाे ।

प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउँने आयाेजकले उल्लेख गरेको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद २१ हजार रूपैयाँ पुरस्कार पाउँने आयोजकले जनाएको छ । विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरू गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो। गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो। विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।

प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रूपैयाँ दिने प्रतिवद्धता गरेको जनाइएको छ । त्यस्तै विराटनगर महानगरपालिकाबाट १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख रूपैयाँ प्राप्त हुने आयोजकको दाबी छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार २ सय रूपैयाँ अनुमानित खर्च लाग्ने जनाइएको छ । टिकटबाट न्यूनतम् ५० लाख रूपैयाँ उठ्ने ट्रष्टको दाबी छ । चैत्र १५ गतेदेखि सुरू हुने रात्रिकालिन विराट गोल्डकप चैत्र २४ गते समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित