चतरामा महाकुम्भ मेलाको तयारी धमाधम

सुनसरी / आगामी चैत र वैशाखमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेलाको तयारी धमाधम भइरहेको छ ।

मेला आयोजनाका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरी तयारी तीव्र पारिएको छ ।कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन् ।

प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने गरेको छ । यसैगरी हरेक ६ वर्षमा अर्ध कुम्भमेला आयोजना हुन्छ । नेपालका प्रथम जगतगुरु भनिएका वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ ।

चैत २७ देखि २०९१ वैशाख २८ गतेसम्म बराहक्षेत्र चतराधाम क्षेत्रमा बाह्र वर्षे पूर्ण महाकुम्भ मेला आयोजना हुने भएको हो ।यसका लागि मूल आयोजक समितिले तयारीका काम गरिरहेको छ । विभिन्न पक्षमा काम गर्नका लागि उक्त समितिअन्तर्गत २६ वटा समितिहरु गठन गरिएको छ ।

मूल आयोजक समितिले आज ती समितिहरु घोषणा गरेको हो । मूल आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीका अनुसार मेला आयोजनाका विभिन्न पक्षमा काम गर्ने गरी ती समिति बनाइएका हुन् ।मूल आयोजक समितिमा जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा धार्मिक क्षेत्रका व्यक्तित्वहरु सहभागी गराइएको छ ।

आज घोषणा गरिएका समितिहरुमा आर्थिक, अनुगमन, शान्ति सुरक्षा व्यवस्थापनलगायत समिति छन् ।

यसैगरी, स्वयंसेवक उपसमिति, बजार व्यवस्थापन उपसमिति, प्रचार प्रसार समिति, प्राथमिक स्वास्थ्य उपचार समिति, साहित्य सम्मेलन उपसमितिलगायत छन् ।कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले महाकुम्भ मेलाको तयारीबारे जानकारी लिएका थिए । कुम्भ मेलास्थल सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा पुगेर मन्त्री उप्रेतीले मेलाको तयारीबारे जानकारी लिएका थिए ।

त्यस क्रममा बालसन्तले कुम्भ मेलाको तयारी धमाधम भइरहेको जानकारी गराएका थिए । मेलाका लागि भौतिक संरचना निर्माण, विद्युत, खानेपानी, सरसफाइको व्यवस्थापन, सुरक्षा प्रबन्ध, बसोबासस्थल जस्ता पक्षहरुमा तयारी भइरहेको जनाइएको छ ।ग्रन्थहरुमा उल्लेख भएअनुसार बराहक्षेत्र, चतरा धाम क्षेत्रको महत्व उच्च रहेको छ । यहाँ नियमित रुपमा पितृ श्राद्ध, मकर स्नानका साथै अन्य धार्मिक पर्वहरुको अवसरमा भक्तजनहरुको चहलपहल हुने गरेको छ ।

चतरामा भक्तजनहरुको आवासका लागि विभिन्न दाताहरुले भवन बनाएका छन् । विभिन्न देवी देवताका मन्दिरका साथै वृद्धाहरुको हेरचाहका लागि वृद्धाश्रम समेत सञ्चालन गरिएको छ । त्यहाँ सञ्चालित वृद्धाश्रमको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डेले रेखदेख गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित