इटहरी खानेपानी : पाण्डेको रिट खारेज : निर्वाचनको तयारीमा समिति

इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचन बिथोल्न हालिएको रिट उच्च अदालत बिराटनगरले खारेज गरेको छ । मङ्गलवार साँझ सम्म चलेको दुवै पक्षको बहस पछि उच्चका न्यायधिश शम्भु गौतमको एकल इजलासले खानेपानी संस्थाको पक्षमा फैसला गरेको हो ।

वर्तमान स्थितिमा निर्वाचन नगराउन निवेदन सहित गत फागुन २४ गते इटहरी ७ का कमल पाण्डेले उच्चमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै अदालतले संस्थाको पक्षमा फैसला सुनाएको हो ।

 अदालतले निर्वाचनको विषय सार्वजनिक र सामुदायिक सरोकारको विषय भएको हुँदा स्थगित गर्नुपर्ने कुनै कारण नदेखिएको बताउँदै संंस्थालाइ  बाकी प्रक्रिया अघि बढाउन भनेको छ ।

अदालतमा पाण्डेको तर्फबाट अधिवक्ता राजु ढकालले बहस गरेका थिए भने संस्थाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला , अधिवक्ता प्रेम प्रसाद पोख्रेल ,शारदा प्रसाद अधिकारी ,वीरेन्द्र बहादुर बस्नेत ,शङ्कर पोख्रेल ,र उद्धव प्रसाद काफ्लेले बहस गरेका थिए ।

  खानेपानीमा नयाँ नेतृत्व चयनकालागि आगामी चैत्र ३ गते निर्वाचन तय गरिएको थियो । निर्वाचनको तयारी चलिरहेकै वेला इटहरीका कमल पाण्डेले उच्चमा रिट दायर गरेपछि सबै कार्यक्रमहरू स्थगित भएका थिए । उच्चले पुनः संस्थाकै पक्षमा सुनुवाइ गरेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको इटहरी खानेपानी निर्वाचन समितिका सह संयोजक चन्द्र प्रसाद भट्टराई ले बताए ।

तोकिएको समय सीमालाई अलि पर सारेर भए पनि निर्वाचन सम्पन्न गराउने तयारी भइरहेको समितिका सह संयोजक भट्टराई ले बताए । यस अघि समितिले अन्तिम मतदाता नामावली विवरण सार्वजनिक गरिसकेको छ । विवरण अनुसार इटहरी उपमहानगर अन्तरगत खानेपानीमा कुल २२ हजार ९८ जना मतदाताहरू रहेका छन् । इटहरी खानेपानीमा नेतृत्वकोलागि नेपाली काँग्रेस र नकपा एमालेले बेग्ला बेग्लै दाबी गर्दै आएको छ । काँग्रेस उपमहानगर सभापति तथा इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल सके सम्म सहमतिको प्रयासबाट अघि बढ्ने दाउमा देृखिएका छन भने एमाले उपमहानगर अध्यक्ष याम कुमार सुब्बा कसैसँग तालमेल नगरी एक्लै चुनावमा जाने तयारीमा छन ।

खानेपानीमा अध्यक्षकालागि एमालेले पुराना नेता प्रेम बहादुर बस्नेतलाई अघि बढाएको छ भने काँग्रेसले उपाध्यक्षमा उपाध्यक्षमा वालकृष्ण विष्ट र महासचिवमा खानेपानीभित्रैका इन्जिनियर भविन खडकालाई उठाउने तयारी गरेको छ । अन्य पदमा भने नाम आइसकेको छैन । मुख्य ठुला पदमा सहमति जुटाउने प्रयासमा काँग्रेस एमाले प्रतिनिधिहरू जुटेका छन् ।

 बिहीबार समितिको  बैठक बसी आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेको समितिभित्रबाट बुझिएको छ । झन्डै १० वर्ष पछि हुन लागेको खानेपानी निर्वाचनमा २२ हजार ९८ जना मतदाता सहभागी हुदैछन । तिनै मतदाताहरूमध्येबाट खानेपानीले १६५ जना निर्वाचित प्रतिनिधि पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित