इटहरी खानेपानीमा घुस्याे राजनीति : दलीय भागबन्डा नमिल्दा निर्वाचन अनिश्चित

इटहरी । सुनसरीको इटहरीस्थित खानेपानी संस्थामा नेकपा एमाले र नेपाली काँग्रेस बिचको तालमेल नमिल्दा आगामी चैत्र ३ गते हुने भनिएको निर्वाचन अनिश्चित बनेको छ । इटहरी ७ का कमल पाण्डेले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेपछि तय भइसकेको खानेपानीको सबै कार्यक्रमहरू तत्काल स्थगित भएको छ ।

पाण्डेले गत फागुन २४ गते अदालतमा रिट दायर गरेकोमा न्यायधिश उद्धव गजुरेलको एकल इजलासले तत्काललाई सबे कार्यक्रम स्थगित गर्न र निर्वाचन समितिलाई कारण देखाऊ आदेश जारी गरेको थियो । अदालतले भने आज २९ गते दुवै पक्षलाई छलफलकालागि बोलाएको छ । लगभग निर्वाचनको तयारी चलिरहँदा अदालतबाट पत्र जारी भएपछि हाललाई सबै कार्यक्रम स्थगित गर्नुपरेको इटहरी खानेपानी संस्था अन्तरगत गठित निर्वाचन समितिका संयोजक अर्जुन दाहालले बताए । यस अघि समितिले फागुन २७ गते उम्मेदवारी मनोनयन दर्ता हुँदै चैत्र ३ गते निर्वाचन मिति घोषणा गरेको थियो ।

सबै कार्यक्रम तय भइसक्दा निर्वाचन प्रक्रिया नै बिथोलिनेगरी अदालतमा किन उजुरी पर्याे भन्ने विषयमा निर्वाचन समिति बोलेको छैन । अदालती प्रक्रिया गएको कारण अहिले केही बोल्न मिल्दैन निर्वाचन समितिका संयोजक अर्जुन दाहाल बताउँछन् । खानेपानी कर्मचारी स्रोतले भने नेतृत्वमा दलीय भागबन्डा नमिल्दा यो किचलो खडा गरिएको बताएको छ ।

स्रोतका अनुसार निर्वाचनमा एमाले एक्लै खडा हुने भएपछि रुष्ट बनेको काँग्रेसका समर्थकले नै अदालतमा मुद्दा दायर गरेका हुन । खानेपानीमा अध्यक्ष एमाले , उपाध्यक्ष र महासचिवमा काँग्रेसले दाबी गर्दै आएको थियो तर एमालेले नगर स्तरीय छलफल पछि कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा होमिने बताएपछि काँग्रेस रुष्ट बनेको थियो ।

इटहरी खानेपानी अध्यक्षमा एमालेबाट पुराना नेता प्रेमबहादुर बस्नेतको चर्चा चलेको थियो । यस अघि खानेपानीमा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको पनि चर्चा चलेकोमा उनी छलफलबाट पछि हटेका थिए । त्यस्तै काङ्ग्रेसबाट उपाध्यक्षमा वालकृष्ण विष्ट र महासचिवमा खानेपानीभित्रैका इन्जिनियर भविन खडकालाई राख्ने तयारी गरिएको थियो तर महत्त्वपूर्ण पदमा एमाले एक्लैले दाबी गर्न थालेपछि काँग्रेस अदालत पुगेको खानेपानी भित्रका कर्मचारी स्रोत बत्ताउँछ । खानेपानीको विधान अनुसार संस्थाको अध्यक्ष बन्न समितिमा रहेर काम गरेको हुनुपर्ने उल्लेख गरिएको छ । विधान अनुसार काँग्रेसले अध्यक्षमा दाबी गर्न नपाएपछि महत्त्वपूर्ण उपाध्यक्ष ,महासचिव र कोषाध्यक्षमा दाबी गरेको थियो ।

सकै सम्म सहमतिको बाटाबाटै खानेपानीको नेतृत्व चयन हुनुपर्ने अडानमा इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल रहेका थिए । उनले आफ्नो कार्यकक्षमा पनि सहमतिको प्रयास गराउन सक्दो पहल गरेका थिए । निर्वाचनको प्रक्रिया सुरु भए लगत्तै इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल लबिङमा जुटेका थिए ।

नेपाली काँग्रेस इटहरी उपमहानगर सभापति समेत रहेका नगर प्रमुख पौडेलले गत आइतबार कार्यालय परिसरमै सहमतिको प्रयास स्वरूप खानेपानी नेतृत्वको लागि छलफल चलाएका थिए । छलफलमा कुनै सहमति नभएको एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले बताए । खानेपानी निर्वाचन प्रक्रिया आफूहरू क्लियर रहेको तर काँग्रेस पक्षले निर्वाचन हुन नदिन अदालत पुगेको उनको आरोप छ । 

झन्डै १० वर्ष पछि हुन लागेको खानेपानी निर्वाचन तत्काललाई स्थगित भएपछि गठित निर्वाचन समिति अदालतको निर्णय कुरेर बसेको छ । आज (मङ्गलवार) पक्ष र विपक्ष दुवेलाइ उपस्थिति हुन अदालतले पत्राचार गरेकोले त्यसैको तयारी जुटेको निर्वाचन समितिका सह संयोजक चन्द्रप्रसाद भट्टराइले बताए ।

अदालतको फैसला आएपछि मात्रै समितिले आफ्नो निर्णय सार्वजनिक गर्ने सह संयोजक भट्टराई बताउँछन् । अदालतले निर्वाचन गराउन आदेश जारी गरे इटहरी खानेपानीमा २२ हजार ९८ मतदाताबाट १६५ जना प्रतिनिधि निर्वाचित हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित