इटहरी यातायातमा बिचौलिया प्रतिबन्ध : सेवाग्राहि भन्छन 'कार्यालय भनेकाे यस्ताे हुनुपर्छ'

सवारीमा राजस्व बढ्याे, लाइसेन्समा घट्यो

इटहरी । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयले कार्यालय परिसरमा बिचौलियालाई प्रतिबन्ध लगाएको छ । लाइसेन्स नवीकरण देखि साना साना फारम भर्न पनि बिचौलियाले दुख दिने गरेको सेवाग्राहीहरूले गुनासो गरेपछि कार्यालय परिसरमा बिचौलिया प्रतिबन्ध गरिएको हो ।

कार्यालय इटहरी विराटनगर रोडस्थित नयाँ भवनमा सरे लगत्तै कर्मचारीहरू सँग छलफल गरी बिचौलिया प्रवेश निषेध गरिएको यातायात व्यवस्था कार्यालय चालक अनुमति पत्रका प्रमुख टङ्क प्रसाईँले बताए । यातायातको चालक अनुमति पत्र सँगै सवारी दर्ता कार्यालयमा पनि बिचौलिया निषेध गरिएको हो ।

 दुवै कार्यालयमा बिचौलिया निषेध गरेपछि अहिले यातायतको सेवा पनि चुस्त दुरुस्त बनाइएको चालक अनुमतीपत्रका प्रमुख प्रसाईँ बताउँछन् । विगतमा एउटा काम सक्न सेवाग्राहीलाई ४५ मिनेट देखि एक घण्टा लाग्थ्यो भने अहिले १५ देखि २० मिनेटमै सबै काम सकेर फर्किने गरेको प्रमुख प्रसाईँ बताउँछन् । कार्यालय परिसरमा बिचौलिया प्रतिबन्ध लगाएपछि सेवाग्राहीहरू पनि खुसी देखिएका छन् । सुनसरी दुहबीबाट लाइसेन्स नविकरणकालागि आएका रहमान मन्सुरी कार्यालयको भवन घुम्दा घुम्दै काम सकिएको पत्तै नभएको बताए ।

 पहिला त ढोकामै २ सय देखि १ हजार सम्म बार्गेनिङ हुन्थ्यो अहिले सुनसान जस्तो देखियो उनले भने । त्यस्तै इटहरीका रोशन अधिकारी लाइसेन्सको राजस्व दाखिला गर्न कार्यालय पुग्दा अनौठो महसुस गरेको बताए । नयाँ भवनमा सरेपछि कार्यालयको सेवा प्रभावकारी रहेको सुनाए । बिचौलिया प्रतिबन्ध लगाएछ राम्रै भयो उनले भने ।अहिले यातायात कार्यालयको मूल गुटमै २ जना सुरक्षा गार्ड तैनाथ गरिएको छ । उनीहरूले सबै डकुमेन्ट चेकजाँच पछि मात्रै भित्र प्रवेश गर्न दिइने गरेका छन् ।

कसैले साथी भनेर बोकेर भित्र लगे पनि उनीहरूको चालचलनबाट बिचौलिया हो या हैन भन्ने थाहा भइहाल्ने कार्यालय प्रमुख प्रसाईँ बताउँछन् । त्यसरी झुक्याएर छिरिहाले र बिचौलिया रहेको पत्ता पाए तत्काल समातेर बाहिर निकाल्ने गरिएको पनि उनले बताए । यसैबिच यातायात व्यवस्था कार्यालय चालक अनुमति पत्रमा चालु आर्थीक वर्षको साउन देखि माघ मसान्त सम्म लाइसेन्स लिनेहरूको सङ्ख्या बढेको छ ।

 चालु आर्थिक वर्षको ७ महिनामा सो कार्यालयबाट १६ हजार ९५ नयाँ लाइसेन्स जारी गरी वितरण गरिएको बताएको छ । कार्यालयले साउनमा मात्रै ३ हजार ३२६ नयाँ लाइसेन्स जारी गरी वितरण गरेको छ भने भदौमा २६६७,असोजमा २७६३,कार्तिकमा १२०६,मङ्सिरमा २२३२,पुसमा २४६८ र माघमा २२४२ लाइसेन्स वितरण गरेको जनाएको छ । सवारी चालक अनुमति पत्रमा उल्लेखनीय सहभागिता जनाएको कार्यालयको राजस्व सङ्कलनमा भने गिरावट देखिएको छ । सो कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा १० करोड ३७ लाख ८२ हजार ५ सय राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयको वार्षिक राजस्व सङ्कलन २२ करोड माथि उल्लेख गरिएको छ । गत वर्ष यही सात महिनामामा कार्यालयले १३ करोड ७० लाख राजस्व सङ्कलन गरेको थियो ।

यता यातायात व्यवस्था कार्यालय सवारी दर्तामा भने उल्लेखनीय राजस्व सङ्कलन भएको सो कार्यालयले जारी गरेको प्रगति विवरणले जनाएको छ । सवारी दर्ताको कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ६४ करोड ८५ लाख ४८ हजार ८४१ रूपैया राजस्व सङ्कलन गरेको छ । यो राजस्व सङ्कलनलाई कार्यालयले उल्लेखनीय प्रगतिको रूपमा हेरेको छ । यातायात व्यवस्था कार्यालय सवारी दर्ताका प्रमुख राजकुमार गुप्ताका अनुसार सङ्कलित राजस्व अनुमानित भन्दा बढी रहेको बताए । अघिल्लो आर्थिक वर्षको यही सात महिनामा ६३ करोड ८९ लाख राजस्व सङ्कलन गरेकोमा यो वर्ष ६४ करोड रूपैया सङ्कलन हुनु कार्यालयको सेवामा प्रगति देखिएको प्रमुख गुप्ताले बताए ।

त्यस्तै सो कार्यालयले सात महिनाको अवधिमा साना तथा ठुला गरी ९हजार ५२६ सवारी साधन दर्ता गरेको जनाएको छ । सवारी दर्ताबाटै सो परिमाणको राजस्व सङ्कलन गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनामा यात्रुवाहक बस ६०, मिनिबस २,माइक्रो ५   ,जिप ४ ,पिकअप २ इ–रिक्सा १२३२ मोटरसाइकल ३९६५ स्कुटर ३६६२,इ–स्कुटर २६६ ट्रिपर १५ ,ट्रक २७ लगायत अन्य गरी चालु आवको सात महिनामा  ९हजार ५२६ सवारी साधन दर्ता गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित