इटहरीका मेयरले निजी विद्यालयका सञ्चालकहरूलाई राजनीतिक दलका झोले भनेपछि...

संस्थागत विद्यालयको छाता सङ्गठनले जनाए संयुक्त विरोध

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले निजी विद्यालय तथा कलेज सञ्चालन गर्नेहरूलाई सामाजिक सञ्जालमार्फत गाली गलाैज गरेपछि  संस्थागत विद्यालयको छाता सङ्गठनहरू प्याव्सन , एन प्याव्सन ,हिसानले संयुक्त विरोध जनाएको छ ।

मेयर पौडेलले इटहरीमा शिक्षा सुधारका लागी बनाइएको नियम मान्दिन भन्दै डराएर अदालत गएको भनेपछि आइतबार संस्थागत विद्यालयको छाता सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका हुन । मेयर पौडेलले आइतबार इटहरीस्थित समता स्कुलको २५ औ वार्षिकोत्सव निजी विद्यालयका सञ्चालकहरूलाई राजनीतिक दलका झोलेहरू भनी अभिब्याक्ति दिएपछि संस्थागत विद्यालयको छाता सङ्गठनहरूले विरोध गरेका हुन ।

 इटहरीमा पत्रकार सम्मेलन गर्दै सङ्गठनका पदाधिकारीहरूले मेयर पौडेलले बोलेको कुराले निजी एवम् संस्थागत विद्यालयहरूको मान मर्दन भएको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराइले २ लाख नगरवासीको अभिभावक जस्तो मान्छेले सार्वजनिक कार्यक्रममा बोल्दा हेक्का राखेर बोल्नुपर्ने अाैल्याए ।  प्याव्सन काेशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुमित थापाले सङ्घीय शिक्षा एेन र स्थानीय सरकार शिक्षा एेन विरुद्ध बनाइएको नियम अमान्य हुने बताए ।

निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरू सँग कुनै छलफल नै नगरी बनाएको नियमले अभिभावक र बिद्यार्थी स्वयममा आर्थिक भार थपिनुका साथी दूरगामी असर देखिने थापाको टिप्पणी थियो । त्यस्तै इटहरी उपमहानगरपालिकाका शिक्षा समिति सदस्य राजकुमार सापकोटाले आफूहरूको सहमतिविनै मेयर पौडेलले एकल निर्णय लादेको बताए । बैठकमा आफ्नो असहमति हुँदाहुँदै पनि शिक्षा सुधारको नाममा मेयर पौडेलले एक्लाैटी निर्णय गरेको बताए ।उनले  शिक्षा सुधार गर्न भनी ६ पटक सम्म बैठक बसे पनि कुनै निर्णय नभएको र संस्थागत विद्यालयको विरोध हुँदाहुँदै पनि जबरजस्ती निर्णय बनाएको आरोप लगाए ।

उपमहानगरले आगामी शैक्षिक सत्र २०८१ देखि  टाईको सट्टा भादगाउँले टोपी अनिवार्य ,छात्रकालागि गाढा नीलो कोट–पेन्ट र आकाशे नीलो रङको सर्ट, छात्राकालागि गाढा नीलो रङको फ्रक, मौसमअनुसार जाडो महिनामा नीलो रङको ज्याकेट, नीलो स्विटर लगाउनुपर्ने निर्णय गरी कार्यानवयनकालागी दबाब दिएको थियो । त्यस्तै साताको मङ्गलवार र शुक्रवार सेतो सर्ट, सेतो पाइन्ट, सेतै जुत्ता र मोजा लगाउनुपर्ने निर्णय गरेको थियो ।

सो निर्णय विरुद्ध  संस्थागत विद्यालयको छाता सङ्गठन क्याप्सन,एन क्याप्सन,हिसान लगायतले गत बिहीबार नै उच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटबिरूद्ध उच्चले शुक्रवार नै उपमहानगरलाई कारण देखाऊ आदेश जारी गरिसकेको छ भने ३० गते अन्तरिम आदेशकालागि समय तोकेको छ।

इटहरी उपमहानगर क्षेत्रमा अहिले ३६ सामुदायिक र १३४ निजी गरी १७० विद्यालय रहेको र सबै विद्यालयहरूमा  कुल ६३ हजार ५ सय २६ जना विद्यार्थीहरू रहेको  उपमहानगरको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित