मोरङको केराबारीमा आगलागी, ३० लाखको क्षति

मोरङ / मोरङको केराबारीमा आगोले जलेर एक जना वृद्धा महिला घाइते भएकी छन् । केराबारी गाउँपालिका–१ डाँडा गाउँकी ७९ वर्षीया सन्तमाया लिम्बू घाइते भएकी हुन् ।

आफ्नै घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा घाइते भएकी सन्तमायालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । प्रहरीका अनुसार आगोले वृद्धाको हात, खुट्टा, अनुहारलगायत शरीरका विभिन्न भाग जलेको छ ।

घरमा सन्तमाया र उनका पति (श्रीमान) शेरबहादुर लिम्बू मात्रै बस्दै आएको खुलेको छ । लिम्बू दम्पती बस्दै आएको घरमा शनिबार साँझ आगलागी भएको थियो । काठ प्रयोग गरेर बनाइएको र कर्कट पाताको छानो भएको २ तले घरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । दाहालका अनुसार आगोले घरसहित भान्सा घर, शौचालय, ८ तोला सुन, १० तोल चाँदी, ७ लाख रूपैयाँ नगद, लत्ताकपडा, काठ, अन्नपात सबै जलेर ध्वस्त भएको छ । आगलागीमा ३० लाखभन्दा बढीको क्षति भएको जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित