ओखलढुङ्गामा दुई दिनमा चार घटना ,मानसिक सन्तुलन गुमेकी महिलामाथी बलात्कार

ओखलढुङ्गा । ओखलढुङ्गामा दुई दिनको अवधिमा चार वटा घटना भएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएकाे छ ।  मदिरा सेवनका कारण गर्भवतीको निधन, भीरबाट लडेर युवकको मृत्यु, जङ्गलको आगो बस्ती छिर्दा एक घर जलेर नष्ट हुनुका साथै मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार जस्ता घटना भएकाे जनाइएकाे छ।

जिल्लाको मोलुङ गाउँपालिका–२ ढुस्केकी ३७ वर्षीय निर्मला दर्जीको निधन भएको हो । छिमेकीको विवाहमा गई अत्यधिक मदिरा सेवन गरी घर फर्केकी   दर्जीको राति सुतकै ठाउँमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक बहादुर केसीले बताए । अत्यधिक मदिरा सेवनका कारण दर्जीको ज्यान गएको भनिए पनि पोष्टमार्टम रिपार्ट आएपछि मात्र कारण यकिन हुने प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । मृतक दर्जीका श्रीमान् छवि दर्जीका अनुसार उनी आठ महिनाको गर्भवती थिइन ।

यसैगरी, जिल्लाकै खिजिदेम्बा गाउँपालिका–६ का २८ वर्षीय दिलबहादुर तामाङको भीरबाट लडेर ज्यान गएको छ । घरदेखि करिब ५०० मिटर टाढा भीरखर्कको गोरेटो बाटोदेखि २०० मिटर तल तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसका साथै मानसिक अवस्था ठिक नभएकी ४५ वर्षीया महिलामाथी बलातकार भएकाे प्रहरीले बताएकाे छ । उक्त घटनाको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–६ का ३७ वर्षीय रुद्र बहादुर तामाङलाई पक्राउ गरेको छ । मानसिक स्वास्थ्य अवस्था असामान्य भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तामाङलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

चिशंखुगढी गाउँपालिका–१ कुईभीर ओखलढुङ्गाको केराबारी जङ्गलमा लागेको आगो बस्ती पस्दा एक घर जलेर नष्ट भएको छ । यामबहादुर राई बस्दै आएका आशबहादुर राईको कच्ची घर जलेर नष्ट भएको हो । राईको ढुङ्गा माटोले बनेको, फूसको छाना भएको तीन तले घर, घर भित्र रहेको अन्तपात, लत्ता कपडा र नगद ७० हजार जल्दा करिब १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए । आगलागीमा मानवीय क्षति नभएको तर घरमा रहेका १० वटा कुखुरा जलेर मरेका छन् भने एउटा सुङेगुर घाइते भएको छ ।

प्रतिक्रिया

सम्बन्धित