अन्तराष्ट्रिय श्रमिक महिला दिवश : शहरमा नाचगान सहितकाे कार्यक्रम हुँदा खाना,नाना र छानाकै पिरमा हुन्छन गाउका महिला

इटहरी । आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा मात्र नभई विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । तर यो दिवस भनेको के हो ? र यसको महत्त्व बारे वास्तविक श्रमिक महिलाहरू नै अनभिज्ञ छन् । 

पारिवारिक तनाव , घर व्यवहारको बोझ , सामाजिक उत्तरदायी तथा खाना , नाना र छानाकै पिरलोले उनीहरू यो दिवस बारे अनभिज्ञ छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । तर त्यो आवाज अहिले पनि आवाज मै सीमित हुन पुग्यो । न श्रमिक महिलाहरूको हक हित सुनिश्चित हुन सक्यो न अवस्था नै परिवर्तन । मजदुरी गरेर जिविको पार्जन गर्ने महिलाहरूलाई यो दिवसले अझै छुन सकेकै छैन । 

नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर धूमधामले कार्यक्रमहरू गर्ने गरेको पाइन्छ तर कुनै कार्यक्रममा यस्ता महिलाहरूले बोलेको र सहभागी भएर आफ्नो पिडा सुनाएको कतै देखिएको छैन । यस्ता दिवस धेरै जसो सहर केन्द्रित बनिदिँदा वास्तविक श्रमिक महिलाहरू आफ्नै अधिकारबाट वञ्चित भएका छन् । श्रम देखि हरेक क्षेत्रमा सधैँ तल नै पर्ने गरेका छन् । न उनीहरूलाई श्रमको समान ज्याला छ न बोल्ने अधिकार नै ।

 इटहरी ७ बज्राहाकी लाखु सदा दैनिक ज्याला मजदुरी गर्छिन् तर परिश्रम गरे अनुसारको समान ज्याला  पाउँदिनन् । उनी आफै भन्छिन् बिहान देखि साँझ सम्म मजदुरी गर्दा उनले  ६ सय पाउँछिन् भने  त्यही काम छोरा मान्छेले गर्दा उसले १२ सय सम्म पाउँछ । लाखु सदालाइ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेको के हो थाहै छैन । उनी विगत ११ वर्ष देखि विभिन्न क्षेत्रमा  श्रम गर्दै आइरहेकी छिन ।

सदा जस्तै यस्ता उदाहरणको पात्र गाउँमा धेरै भेटिएका छन् । श्रम गरे बापतको उचित मूल्याङ्कन नहुनु र गुनासो राख्ने ठाउँ समेत थाहा नपाउँदा उनीहरू विभेदपूर्ण व्यवहारका बिच श्रम बेच्न बाध्य छन् ।एक त श्रममा ठगिनु परेको पिडा अर्को तर्फ घर व्यवहारको बाेजका कारण पनि यस्ता श्रमिक महिलाहरू आफ्नै दिवस बारे अनभिज्ञ छन् । 

नारा मै सीमित यो दिवस श्रमिक महिलाहरूले महसुस गर्न सकेका छैनन् । आज सहरमा महिला मुक्तिका नारा लगाउँदै गोष्ठी, सेमिनार आयोजना भैईरहदा दूर दराजका महिलाले विभिन्न हिंसाका सिकार बन्नु परिरहेको छ। एकातिर समान ज्याला नपाएको भनेर दुखेसो पोखिरहँदा अर्को तिर भने थोरै भए पनि हिजो भन्दा आज महिलाहरूको अवस्था सहज र ज्यालामा पनि समानता भएको र जीवन स्तरमा पनि सहजता आएको उहाँहरू बताउनुहुन्छ । 

नेपालको संविधानमा महिला सहभागिताको कुरा ग्यारेन्टी गरेको छ। नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट महिला मैत्री मानिन्छ। जसले मौलिक हकको धारा ३८ मा महिलाको हक सुनिश्चित गरेको छ भने कानुनले नै महिलालाई ३३५ आरक्षणको व्यवस्था समेत गरेको छ। 

महिला अधिकार, सशक्तीकरण र समानताका कुराहरू दूर दराजका श्रमिक महिलाहरूसम्म पुर्‍याउनका लागी महिला अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरू सहर वा सदरमुकाम केन्द्रित भएर औपचारिक कार्यक्रम गर्नुभन्दा वास्तविक पीडित महिलासम्म पुगेर उनका समस्या बुझ्ने कोसिस गर्नु पर्ने अहिलेको आवश्यकता रहेको देखिन्छ।

 यो भनिरहँदा महिलाहरू जीवन स्तर उकास्ने कामै नभएको भने हैन । स्थानीय सरकार गठन पछि स्थानीय तहबाटै महिलाहरूको जीवन स्तर उकास्ने तथा महिलाहरूलाई नै प्रत्यक्ष उत्पादनशील कार्यमा जाेडने कुरामा स्थानीय सरकार दत्त चित्त रूपले लागेको देखिन्छ । अझ विशेषतः इटहरी उपमहानगरको कुरा गर्नुपर्दा यस उपमहानगरले उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरगत यस नगर भित्रको थुप्रै महिलाहरूलाई विभिन्न उत्पादनशील कार्यमा तालिम तथा रोजगारीको अवस्था सृजना गरिदिएको छ । 

प्रतिक्रिया

सम्बन्धित