सशस्त्रका डीएसपीको शव उठाउने तयारी

विराटनगर / मोरङमा झुन्डिएको अवस्थामा मृत फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायव उपरीक्षक) ४१ वर्षीय उपेन्द्र बस्यालको शव उठाउने तयारी भइरहेको छ ।

धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागका इन्चार्जसमेत रहेका डीएसपी बस्याल सोमबार दिउँसो २ः५५ बजेतिर मृत फेला परेका थिए ।आफ्नो क्वर्टरनजिक रहेको भान्सा कोठाको भित्रबाट ढोकाको चुक्कुल लगाएर पंखामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा बस्याल मृत भेटिएका हुन् ।

परिवारका सदस्यले आफूहरु नआइपुगिकन शव नउठाउन प्रहरीलाई आग्रह गरेका थिए । परिवारको आग्रह अनुसार शवलाई झुन्डिएकै अवस्थामा छाडिएको थियो ।प्रहरीले रातभर घटनास्थललाई सुरक्षा दिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बस्यालका श्रीमतीसहित परिवारका सदस्य आइपुगेकाले घटनास्थलबाट शव उठाउने तयारी गरिएको जानकारी दिए ।

अबको केहीबेरमा शवलाई निकालिने उनले बताए । उनका अनुसार घटनास्थलबाट शवलाई पोस्मार्टमका लागि पठाइने छ ।‘पोस्मार्टम कुन अस्पतालमा गराउनेभन्ने यकिन भइसकेको छैन,’ दाहाल भन्छन्, ‘बस्यालको मृत्युको कारण पनि खुल्न बाँकी छ ।’ तर, डीएसपी बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

डीएसपी दाहालले पोस्टमार्टम रिपोर्ट प्राप्त भएर अनुसन्धान सकिएपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताए ।पाल्पाको तानसेन नगरपालिका–१ घर भएका डीएसपी बस्याल साढे ५ महिनादेखि प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत थिए ।प्रहरीका अनुसार बस्यालको परिवार पोखरामा बस्दै आएको पाइएको छ । प्रहरी स्रोतका अनुसार मृत फेला पर्नुअघि बस्यालले केही साथीहरुलाई सम्पर्क गरेर हालखबर सोधेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित