इटहरीका व्यवसायीले १० दिन मात्र चलाउन अनुमति दिएको जुत्ता चप्पल मेला सधैकालागि स्थापित

१० दिनमा ६५ लाखको कारोबार , ८० हजारले गरे अवलोकन

इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरी र केही व्यवसायीहरूले १० दिन मात्र सञ्चालन गर्ने अनुमति दिएको प्रथम इटहरी जुत्ता चप्पल महोत्सव अब सधैँकालागि स्थापित हुने भएको छ । इटहरी उपमहानगर ६ मा व्यवसाय नै दर्ता गरेर उक्त मेला विधिवत् सञ्चालन भएको हो । महोत्सवको अन्तिम गतिविधि तथा विधिवत् रूपमा दर्ता गरेर सञ्चालनमा ल्याइएको सामूहिक नेपाली जुत्ता चप्पल विक्री कक्षबारे जानकारी गराउन सोमबार पत्रकार सममेलनकाे आयोजना गर्दै व्यवसायीहरूले यस्तो बताएका हुन । 

व्यवसायीहरूले इटहरी उपमहानगरमा सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्ष भनेर दर्ता नै गरिसकेको पत्रकार सम्मेलनमा बताएका छन् । इटहरी वडा नं ६ मै रहने गरी बिक्री कक्ष दर्ता गराइएको प्रथम इटहरी जुत्ता चप्पल महोत्सवका संयोजक तथा सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्षका सञ्चालक होमनाथ उपाध्यायले बताए । गत फागुन १३ गते देखि विधिवत् रूपमा सञ्चालन भएको प्रथम इटहरी जुत्ता चप्पल महोत्सव   मङ्गलवार समापन हुदैछ। महोत्सव सकिए पनि नाम नाम मात्रै परिवर्तन गरी सामूहिक नेपाली जुत्ता चप्पल विक्री कक्ष राखेर स्वतः व्यवसाय सुरु गरिने सञ्चालक उपाध्यायले बताए । 

मेला सञ्चालन भएकै स्थान इटहरी पश्चिम लाइनमा सो रुम स्थापना गरी सामूहिक रूपमा व्यवसाय सञ्चालनमा ल्याइएको पनि उनले बताए । नेपालमा उत्पादन भएका जुत्ता चप्पलहरूको प्रवर्द्धन गर्ने उद्देश्य सहित सञ्चालन भएको १० दिने जुत्ता चप्पल महोत्सवले उल्लासमय कारोबार गरेपछि महोत्सव हटाएर सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्ष बनाइ व्यवसाय नै सुरु गरिएको अर्का सञ्चालक नानीराज घिमिरेले बताए । मेला सञ्चालनको सुरुवाती समयमै इटहरीका व्यवसायीहरूले अवरोध पुर्याउदै आएका थिए ।

व्यवसायीहरूले इटहरीमा विधिवत् ढङ्गले फर्म दर्ता गरी बिक्री वितरण गर्न चुनौती दिएको र सोही चुनौतीलाई स्वीकार गर्दै गत फागुन १७ बिहीबार नै उपमहानगरबाट व्यवसाय दर्ताको प्रमाणपत्र लिइसकेको सामूहिक नेपाली जुत्ता चप्पल विक्री कक्षका सञ्चालक नानीराज घिमिरेले बताए ।

महोत्सवले १० दिनको अवधिमा ६५ लाखको कारोबार गरेको उनले बताए । यस्तै सोही अवधिमा ८० हजारले मेलाको अवलोकन गरेको पनि उनले बताए । महोत्सव सकिए पनि २० देखि ५० प्रतिशतसम्म मिलाइएको छुटको व्यवस्था एक महिना सम्म जारी रहने बताइएको छ । बिक्री कक्षमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका  ३ हजार  बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरू राखिएको छ । बिक्री कक्षमा रोयल सुज, बीएफ डियर हिल सुज, क्रशरोड सुज, फस्ट वाक सुज र डिजे सुज उपलब्ध रहेको बताइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित