इटहरीमा बाँदर संरक्षण अभियान सुरू

इटहरी । कोशी प्रदेशको पहाडी भेगहरूमा बाँदर आतङ्कले बसाइ सर्ने क्रम बढदो छ । बाँदर नियन्णकालागि भोजपुरमा स्थानीयले प्रहरी प्रशासननै गुहार्नुपरेको अवस्था छ । अझ पोखरा महानगरपालिका १९ का वडाध्यक्षले त रूख काट्ने अभियानै चलाए ।  तर सुनसरीको इटहरीमा भने बाँदर धपाउने भन्दा पनि त्यसको संरक्षण गर्ने तर्फ स्थानीयहरू लागि परेका छन् । इटहरी ३ तालतलैया र खुर्साने खाप आसपास अहिले बाँदर आतङ्क बढदो छ । घरमा राखिएको अन्न , खानेकुरा सबै बाँदरले खाएर नष्ट गर्ने गरेको छ ।

अझ साना केटाकेटीमाथि त झम्टिने , चिथोर्ने समेत गरेको स्थानीयहरू बताउँछन् । जङ्गलको बाँदर घरभित्रै छिर्न थालेपछि आसपासका रूखहरू काट्ने योजना स्थानीयले नबनाएका पनि होइनन् । इटहरी ३ का तुलाबहादुर राइका अनुसार सुरुमा चौरी छेउछाउको रूख काट्ने योजना बनायौ ताकि बाँदर घर सम्म नआओस ।

पछि फेरी रूख काट्नु हुँदैन बरु संरक्षण गर्ने तर्फ लागौ भनेर कसैलाई रूख काट्नै दिइएन उनी भन्छन् । बजारबाट गुलेली किनेर ल्याइ बाँदर नै मार्ने योजना पनि बनाए तर त्यो पनि गर्न सकेनन् । बाँदर आतङ्कले सीमा नाघेपछि स्थानीयहरूले प्रहरी प्रशासन र वडा कार्यालय सँग सहयोग मागेको इटहरी ३ का स्थानीय मणिकुमार चाम्लिङ बताउँछन ।

इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार बाँदर धपाउने योजना लिएर गाउँ जाँदा स्थानीय आफैले धपाउने भन्दा संरक्षण गर्ने उपाय निकाल्न सुझाव दिएको बताउँछन । बन जङ्गल मासिएर प्राप्त आहारा नपाएपछि दैनिक ६० वटा भन्दा बडीको सङ्ख्यामा बाँदरहरू गाउँ पसेको स्थानीयहरू बताउँछन । 

बाँदरले पाकेको खाना खाइदिने , अन्न नष्ट गर्ने , भौतिक सामग्री क्षतविक्षत बनाउने , फर्निचर बिगार्ने देखि थाल बटुको नै बोकेर कुद्ने जस्ता प्रविती बढेपछि हैरान बनेको स्थानीयहरू सुनाउँछन । यता जङ्गलबाट आएको बाँदरलाई जङ्गलमै रोक्न वडा कार्यालयले शनिवार फलफूलको बिरुवा रोपेको छ । पहिलो चरणमा १०० वटा फलफूलको बिरुवा रोपेको र यो अभियान वर्षैभरि चलाइने इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले बताए ।

जङ्गलमा पर्याप्त आहारा नपाएपछि मानव बस्ती छिरेको बाँदरलाई रोक्न यो नौलो योजना रहेको पनि उनले सुनाए । इटहरी ३ को बाँदर प्रभावित क्षेत्रमा १०० वटा फलफूलका बिरुवा रोपिएको हो । जसमा आप , लिच्ची , सरिफा , तित्री , बर्रा,अम्बा लगायतका बिरुवा रोपिएको वडाध्यक्ष सुवेदीले बताए । रोपिएका फलफूलका बिरुवाहरूले आगामी ६ महिना देखि नै फल दिन सुरु गर्ने वडाध्यक्ष सुवेदीले बताए ।

जङ्गलभित्रै पर्याप्त मात्रामा फलफूल खान पाएपछि बाँदर मानव बस्ती नपस्ने वडाध्यक्ष सहित स्थानीयको पनि दाबी छ । यता बाँदर नियन्त्रणकलालागि विशेष योजना बनाउन संसदमा कुरा उठिरहेको सङ्घीय सांसद तथा कोशी प्रदेशका पूर्व मुख्य मन्त्री भीम आचार्यले बताए ।

बाँदर संरक्षण अभियानका प्रमुख अतिथि समेत रहेका सांसद आचार्यले शुभकामना मन्तव्य राख्ने क्रममा कोशी प्रदेशको पहाडी भेगमा बाँदर आतङ्क बढदो रहेको जसका कारण क्रमशः गाउनै बसाइ सराइले खाली हुँदै गएको प्रति चिन्ता प्रकट गरे । सांसद आचार्यले बाँदरकै कारण मानव बस्ती रित्तिन नदिन नियन्त्रणका प्रयासहरू अघि बढाउने बताए ।

उनले बाँदरहरू समातेर चिन , श्रीलङ्का या कुनै देश तर्फ निर्यात गर्ने कि भनेर योजना पनि बनिरहेको सुनाए । तर इटहरीमा भने युवा वर्गले थालेको बाँदर संरक्षण साँच्चै नौलो र उत्प्रेरित कार्य रहेको भन्दै खुसी प्रकट गरे । सांसद आचार्यले शुभकामना मन्तव्य सँगै बृक्षारोपण पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित