एमाले अध्यक्ष ओलीले भने : शालिनको मृत्यु घटनाले बेचैन बनायो, विश्वसनीय अनुसन्धान होस्

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटनाले बेचैन बनाएको बताएका छन् ।

आज (शनिबार) आफ्नो सामाजिक सञ्जालमार्फत उनले यस्तो संवेदनशील घटनामा घटनाको गहिरो अनुसन्धान हुनुपर्नेमा जोड दिए । ‘हत्या वा आत्महत्या के हो ? भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्छ’ उनले भने । घटनाको अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले सबैलाई आग्रह समेत गरेका छन् ।

के हो घटना ?

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन गत फागुन १२ गते सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । मृतक शालिनका पिता दीपेन्द्र पोखरेल भन्छन् ‘शव झुण्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो । 

घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी कोठाका साथी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले विद्यालय परिसरभित्रै मेरो भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरे ।’

मृतकका बुबाले आफू काठमाडौँमा भएको बेला उक्त घटना भएको जानकारी विद्यालयबाट आएको र आफू त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिएता पनि आफू त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले काम गरेको देखिएको सुनाए । ‘म त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’ को ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो,’ उनले भने, ‘शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ ।’

बलात्कारपछि हत्या गरिएको आशंकापछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरीवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको मृतकका बाबु दीपेन्द्रले सुनाए ।

उक्त घटनामा चार दिनपछि प्रहरीले जाहेरी लिएको र मृतक शालिनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव वाहनमा ल्याएको, पोस्टमार्टम भए पनि शव अहिलेसम्म नबुझेको जानकारी दिए । प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

मृतक शालिनकी आमा सगुनले आफूहरुलाई घटनाबारे ढिलो खबर गरेको र उक्त विद्यालय नजिकै बस्ने मृतककी हजुरआम ासमेतलाई जानकारी नगराइएकाले घटना आत्महत्या नभई हत्या गरेको देखिएको हुँदा आफू जस्तै आमाले भोलिका दिनमा छोरीहरु यसैगरी गुमाउन नपरोस् भनेर घटनाको यथार्थ छानबिन गर्न माग गरेकी छिन् । यता प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको गम्भीर रुपमा थप अनुसन्धान कार्य भइरहेको बताएका छन् । उनले अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित