१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ

चितवन । पूर्वी चितवनको रत्ननगरमा अघिल्लो हप्ता १४ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेपछि चितवन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

सालिनको मृत्यु भएपछि आफन्तले दिएको किटानी जाहेरी अनुसार प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरिएको हो। अदालतको अनुमति लिएर पक्राउ परेका उनीहरुमाथि ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको छ।

आफन्तले शालिनको आत्महत्या नभई हत्या भएको दाबी गर्दै उजुरी दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले पक्राउ परेकाहरुलाई अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

अघिल्लो साताको शनिबार रत्ननगरमा विद्यालयको छात्रावासमा सालिन मृत अवस्थामा फेला परेकी थिइन्। रत्ननगर १० स्थित एकता शिशु निकेतनमा सँगै रहेका साथीहरु खान खान गएर फर्किंदा १४ वर्षीय छात्रा सालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। साथीहरु फर्किएपछि ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेको विद्यालयले जनाएको छ। झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित