इटहरी खानेपानीमा राजनीति सिन्डिकेट , १० वर्षपछि निर्वाचनको तयारी

इटहरी । सुनसरीको इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्वको लागि आगामी चैत्र ३ गते निर्वाचन तय गरिएको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीति हस्तक्षेप र सिन्डिकेट हाबी भएको  पत्रकार सम्मेलनमै छर्लङ्ङै देखिएको छ ।

 निर्वाचन समितिले तय गरिसकेको कार्यक्रम राजनीतिक सिन्डिकेटकै कारण एक साता पछि धकेलिएको जनाएपछि खानेपानीमा अझै पनि राजनीति सिन्डिकेट हाबी भएको देखिएको हो । समितिले निर्वाचनको प्रक्रिया अघि बढाइरहँदा इटहरीका प्रमुख ठुला दलहरूले उम्मेदवारी मनोनयन दर्ता एक हप्ता पछि सार्न दबाब सृजना गरेपछि आज शनिवार तय गरिएको उम्मेदवारी दर्ता मनोनयन आगामी फागुन २७ गतेलाई सारिएको पत्रकार सम्मेलनमा बताइएको छ । आगामी फागुन १९ गते नै तय भइसकेको उम्मेदवारी मनोनयन दर्ता राजनीति हस्तक्षेप पछि फागुन २७ मा सारिएको हो । नेतृत्वको लागि होडबाजी सँगै भागबन्डा नमिलेपछि मनोनयन प्रकृियानै सारिएको पत्रकार सम्मेलनमा छर्लङ्ग भएको छ । तर निर्वाचन समितिले यसलाई राजनीतिक दबाब नभएर आग्रह तथा अनुरोध भनेको छ ।

पटक पटक राजनीतिक हस्तक्षेपकै कारण स्थकित हुदै आएको इटहरी खानेपानीको निर्वाचन यो पटक जसरी पनि सम्पन्न गरेरै छाडने निर्वाचन समितिको दाबी छ । पत्रकार सम्मेलनमा  निर्वाचन समितिले अहिले सम्म गरेको गतिविधिबारे जानकारी  गराइएको छ । आगामी चैत्र ४ गते इटहरी खानेपानीको निर्वाचन सम्पन्न गराउन इटहरी उपमहानगरपालिका भौतिक पूर्वाधार विज्ञ अर्जुनकुमार दाहालको संयोजकत्वमा ५ सदस्य निर्वाचन समिति समेत गठन गरिएको छ ।

२०७१ साल देखि विविध कारण वस रोकिँदै आएको खानेपानी निर्वाचन यो वर्ष सम्पन्न गराउने होडमा समिति देखिएको छ । तर निर्वाचन अघि नै राजनीति हस्तक्षेप देखिएपछि विगतकै जस्तो निर्वाचन स्थित हुने आशङ्का पनि गरिएको छ । यो पटक निर्वाचन विशेष हुने र तोकिएको मितिमै सम्पन्न हुने निर्वाचन समितिका संयोजक अर्जुनकुमार दाहाल बताउँछन् । समितिले निर्वाचनको प्रक्रिया अघि बढाइसकेकोले यो पटक कुनै शङ्का उपशङ्का नगर्न सबैमा आग्रह पनि गरिएको संयोजक दाहाल बताउँछन् ।  समितिले मतदाता नामावली प्रकाशन गरी निर्वाचनको सम्पूर्ण तयारी अगाडी बढाइसकेको दाबी गरेको छ ।

निर्वाचनका लागि इटहरी उपमहानगरभरि १२ वटा केन्द्र तोकिएको छ भने २५ वटा बुथ निर्माण प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा बताइएको छ ।यस्तै निर्वाचनलाई भव्य र सभ्य बनाउन इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलको संयोजकत्वमा १६ जना सदस्य रहने गरी अनुगमन समिति पनि गठन गरिएको छ ।  इटहरी खानेपानीमा कुल २२०९८ मतदाता रहेका छन ।  

यता निर्वाचन सुरु हुनु अगावै राजनीतिक हस्तक्षेप देखिएपछि यो पटक पनि खानेपानीले नयाँ नेतृत्व पाउनेमा शङ्का उत्पन्न भएको खानेपानी कर्मचारी श्रोत बत्ताउँछ । उम्मेदवारी मनोनयनमै किचलोले देखिएपछि यो पटक पनि निर्वाचन नभएर पुरानै नेतृत्व दोहोरिने सङ्केत देखिएको इटहरी खानेपानी कर्मचारी श्रोत बत्ताउँछ ।  राजनीतिक दबाब र हस्तक्षेपकै कारण पटक पटक इटहरी खानेपानीको निर्वाचन रोकिँदै आएको छ । खानेपानीको विधान अनुसार एक ब्याक्तीले ४ वर्ष र भइपरी आएको अवस्थामा एक वर्ष थपी ५ वर्षे कार्यकाल सम्हाल्न पाउने व्यवस्था छ ।तर इटहरी खानेपानीमा राम प्रसाद चौलागाइले विगत १० वर्ष देखि नेतृत्व सम्हाल्दै आएका छन ।

यस अघि पनि २०७६ सालमा निर्वाचनको तयारी भइरहँदा राजनीति हस्तक्षेप पछि सबै कार्यक्रमहरू स्थित भएका थिए । पुन २०७९ मा निर्वाचनको चर्चा चलिरहँदा त्यहाँ पनि राजनीति हस्तक्षेप पछि निर्वाचन प्रक्रिया नै बिथोलिएको थियो । सोही अन्तरालमा स्थानीय निर्वाचन , प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन परेपछि खानेपानीको निर्वाचन त्यतिकै सेलाएको थियो । २०७९ सालमा इटहरी उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद सुवेदीको स।योजकत्वोमा ५ निर्वाचन समिति सदस्य समेत गठन गरी कार्यक्रम अघि बढाइएको थियो ।

स्थानीय निर्वाचनको कारण खानेपानीको निर्वाचन सरेको भनिए पनि राजनीतिक भागबन्डा नमिल्दा र नेतृत्वमा दलीय सिन्डिकेट हाबी भएपछि निर्वाचन नै बिथोलिएको खानेपानी कर्मचारी श्रोत बत्ताउँछ । अहिले पनि निर्वाचनको तयारी अघि बढ्दै गर्दा राजनीतिक हस्तक्षेप सुरु भइसकेको प्रस्ट देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित