पेरिसडाँडामा कांग्रेसको भूमिकाबारे नेताहरूको प्रश्नै–प्रश्न , तर पनि चुइक्क बाेलेनन् प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सत्ता साझेदार नेपाली कांग्रेसको भूमिकाबारे नेताहरुले प्रश्नै प्रश्न उठाएका छन् । यही अवस्था रहे कांग्रेससँग सहकार्य गर्न सकिन्छ कि सकिन्न भनेर छलफल गर्नुपर्ने नेताहरुले बताएका छन् ।पार्टी कार्यालय, पेरिसडाँडामा आज (मंगलबार) बसेको पार्टी स्थायी कमिटी बैठकमा कार्यविभाजन लगायतका एजेण्डा थिए ।

तर बोल्ने अधिकांश नेताहरुले कांग्रेस महासमिति बैठकमा भएका छलफललाई लिएर प्रश्नै प्रश्न उठाएका छन् । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेताहरूले नेपाली कांग्रेस, सत्ता गठबन्धन र राष्ट्रिय सभा अध्यक्ष चुनाव लगायतबारे प्रष्ट पार्न माग गरेका छन् ।

ललितपुरको गोदावरीमा सकिएको कांग्रेसको महासमिति बैठकबाट महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव पारित भएको छ । आगामी चुनावमा कुनै दलसँग पनि गठबन्धन नगर्ने, रुख चिन्हमै मत हाल्न दिने प्रस्ताव पारित भएको छ । यसले माओवादीका स्थायी समिति सदस्यहरू आक्रोशित छन् ।

उनीहरूले पेरिसडाँडा बैठकमा प्रचण्डसँग त्यही असन्तुष्टि पोखेका छन् । सचिव दीनानाथ शर्माका अनुसार नेताहरू कांग्रेसका पछिल्ला गतिविधिले रुष्ट मात्र छैनन्, यसबारे प्रष्ट जवाफ माग्नुपर्ने भन्दै अध्यक्षको ध्यानाकर्षण गराए । कांग्रेसको महासमिति बैठकस्थल बाहिर स्टल नै राखेर हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर संकलन भएको थियो । जसमा केन्द्रीय सदस्य डा. शशांक कोइरालासहित १२ सयले हस्ताक्षर गरेका छन् ।

कांग्रेसभित्र छिरेको धर्म निरपेक्षताविरोधी अभियानले माओवादी नेताहरू झस्किएका छन् । मंगलबारको बैठकमा तीन महिने रुपान्तरण अभियान, नेताहरूको प्रदेश इन्चार्ज हेरफेर र चैत १–१५ मा हुने तराई–मधेस हुलाकी मार्ग जागरण अभियान र वैशाख १–१५ हिमाल, पहाड र तराई जोड्नेगरी गर्न लागेको अभियान लगायत तीन एजेण्डा थिए ।

आजको बैठकबाट प्रदेश इन्चार्जहरू हेरफेरका लागि नाम प्रस्ताव भएको छ । त्यसपछि भने स्थायी समिति सदस्यहरूले कांग्रेस महासमिति बैठकमा भएका केही निर्णयहरूबारे गम्भीर रुपमा कुरा उठाए । स्थायी समिति सदस्य ओनसरी घर्तीका अनुसार बैठकमा गम्भीर रुपमा कांग्रेसको निर्णयको भित्री कुरा प्रष्ट पार्नुपर्ने कुरा उठेको छ ।

माओवादी जनयुद्धलाई ध्वंसात्मक घटना भनेर कांग्रेसका केही नेताको अभिव्यक्ति स्वभाविक नभएको कुरा उठेको उनले बताइन् । ‘संविधानविरुद्ध धावा बोल्नेगरी कांग्रेसले निर्णय गरेको छ, यसले गठबन्धनको सहमति र सहकार्य व्रेक गर्ने काम ग¥यो,’ घर्तीले भनिन्, ‘२०६३ सालमै माओवादीको जनयुद्ध स्वीकार गरेर कांग्रेसले माओवादीसँग सहकार्य गरेको होइन, त्यसबेला जनयुद्ध मान्ने अहिले नमान्ने हुन्छ? यसले कांग्रेसले निहुँ खोजेको देखियो, यसबारे प्रष्ट धारणा आउनुपर्छ ।’

माओवादीको स्थायी समितिमा ४४ सदस्य छन् । नेताहरू कांग्रेस र गठबन्धनमै केन्द्रीत भएर बोल्न थालेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सचिव शर्माले पनि गठबन्धनको ठूलो दलले गरेको निर्णय स्वभाविक नलागेको भनेर कुरा उठेको बताए । ‘अधिकांश बोल्ने नेताहरू कांग्रेसले गठबन्धनमा असहयोग गरेको भन्दै साथीहरू असन्तुष्ट देखिनु भएको छ, उहाँहरूको प्रस्तुति पनि त्यस्तै थियो,’ सचिव शर्माले सुनाए । तर, प्रधानमन्त्री प्रचण्ड बोलेनन् ।

फेरि नेताहरूले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने कुराबाट पछि नहट्न प्रचण्डको ध्यानाकर्षण गराए । ‘माओवादी राष्ट्रिय सभामा ठूलो दल हो, अब सहमति अनुसार प्रधानमन्त्री छोड्नै पर्छ, त्यसपछि हामी संवैधानिक परिषद्मा शून्यको स्थितिमा पुग्छौँ, त्यसो गर्नु हुँदैन,’ बैठकमा नेताहरूले उठाएको भनाई उधृत गर्दै सचिव शर्माले नेपालखबरसँग भने, ‘राष्ट्रिय सभा अध्यक्ष अनिवार्य हामीले लिनैपर्छ ।’ राष्ट्रिय सभा अध्यक्षको चुनाव आगामी फागुन २९ गते हुँदैछ ।

‘आज अध्यक्ष केही बोल्नु भएन, तलबाट निकै गरमागरम विषय उठे पनि उहाँ (अध्यक्ष) चुपचाप सुनि मात्र रहनु भयो, प्रतिक्रिया दिनु भएको छैन, जवाफ पनि दिनु भएको छैन,’ शर्माले थपे । ‘अध्यक्षलाई साथीहरूले खबरदार गर्नुभयो,’ सचिव शर्माले भने, ‘हाम्रो अध्यक्ष एकदमै दिलदार हुनुहुन्छ उहाँको उदारपन फेरि देखिनुभएन, अडानमा बस्नुपर्‍याे भनेर सबैले हलबाट भन्नुभयो ।’

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता