पूर्वेली फलाेअप : बेतनाबाट चित्तल गायब प्रकरण : सुरक्षा गार्डहरू निलम्बित , बन कर्मचारी र सिमसार पदाधिकारीमाथी छानबिन सुरू

इटहरी । मोरङको पर्यटकीय स्थल बेतना सिमसार क्षेत्रबाट ठुलो चित्तल गायब भएपछि सुरक्षामा खटिएका दुई जना कर्मचारीलाई निलम्बन गरिएको छ । सिमसार क्षेत्रबाट गत शुक्रवार बिहान ३ बजे सिकारीको समूहले चित्तल मारेर लगेको भिडियो बाहिरिए लगत्तै सोमबार दुई जना सुरक्षा कर्मचारीलाइ निलम्बित गरी छानबिन अघि बढाइएको  बेतना सिमसार सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले बताए ।

बेतना सिमसारमा कुल १२ जना कर्मचारी रहेका छन् , जसमा रातको समयमा २ जना सुरक्षाकर्मी तैनाथ हुन्छन् । सिमसार क्षेत्रमा पसेर भाले चित्तलको हत्या गरी लैजाँदा समेत सुरक्षामा खटिएका कर्मचारीहरूले थाहा नपाउनु हदै सम्मको लापरबाही भएको भन्दै समितिले उनीहरूलाई निलम्बन गरेको हो ।

 बेतना सेक्युरिटी सर्भिसका सेक्युरिटी गार्डहरू बेलबारी ४ का महेन्द्र कार्की र कृष्ण न्यौपानेलाई निलम्बन गरी आवश्यक अनुसन्धान सुरु गरिएको बन समितिका अध्यक्ष बस्नेतले बताए । पर्यटकीय क्षेत्रबाट भाले चित्तल रातारात गायब भएपछि बेतना सिमसार भित्रकै कर्मचारीको मिलेमतो रहेको स्थानीयहरूले आशङ्का गर्दै आएका छन् ।

यता घटना बारे चासो व्यक्त गर्दै बेतना सिमसार कर्मचारी , पदाधिकारी र सामुदायिक बनका पदाधिकारीहरूमाथी सब डिभिजन बन कार्यालय बेलबारीले पनि अनुसन्धान अघि बढाएको छ । डिभिजन कार्यालयका प्रमुख  दिनेश मिश्रका अनुसार सिमसार क्षेत्रबाट चित्तल चोरी भएको उजुरी आए लगत्तै अनुसन्धान सुरु भएको र केहीलाई बोलाएर बयान समेत लिने काम भइरहेको छ ।

 निलम्बनमा परेका दुई जना गार्डहरूको बयान लिई सकेको र बन कर्मचारीहरूलाई पनि अनुशन्धानको दायरामा ल्याएर बयान लिने काम भइरहेको उनले बताए । मोरङकै उत्कृष्ट पर्यटकीय स्थल मानिएको बेतना सिमसार क्षेत्र पछिल्लो केही महिना यता समिति भित्रैका ब्यक्ति– ब्यक्ति बिचको लडाइले धरासयी बन्दै गएको छ । समितिका पदाधिकारी भित्र जुँगाको लडाइ चल्दा केही दिन सिमसार जस्तो पर्यटकीय क्षेत्र नै बन्द गर्नु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित