प्रहरीले पाएकाे गाेप्य सुचना : ५२ केजी गाँजा बाेकेकाे एम्बुलेन्स धरान छिर्नै पाएन

तराइमा अभियान चलाउँदा पहाड उक्लियो गिरोह

इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारस्थित ड्युटीमा खटिएका प्रहरीलाई एम्बुलेन्स भित्र गाँजा रहेको पहिल्यै सूचना आइसकेको थियो ।   प्रहरीले एम्बुलेन्सको नम्बर भने पत्ता लगाउन सकेको थिएन । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स भित्र गाँजा हुन्छ भन्ने अनुमान कस्लाइ थियो र ? साइरन बजाउँदै राजमार्गमा गुड्ने एम्बुलेन्सलाई रोक्ने कुरा पनि आउँदैन ।

 उल्टै आपतकालिन सेवा भनेर बाटो खालि गराउने काम हुन्छ । तर शनिवार यस्तै दृश्य भेडेटारमा पनि देखियो ।अगाडी साइरन बजाउँदै आएको एम्बुलेन्स भित्र बिरामी मान्छे कोही नभएपछि शङ्का लागेर चालकमाथि केरकार गर्दा ५२ केजी गाँजा बरामद भयो । इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक जीवन कार्कीका अनुसार एम्बुलेन्समा गाँजा रहेको सूचना पाए पनि गाडी नम्बर र रुट जानकारी थिएन ।

 नम्बर पत्ता लगाउन धरान धनकुटा राजमार्गमा शुक्रवार र शनिवार गुडेको एम्बुलेन्सहरूका डाटा चेकजाँच गरियो जम्मा २१ वटा एम्बुलेन्स गुडेको रेकर्ड भेटिए पनि एउटा एम्बुलेन्स फर्किएको रेकर्ड देखिएन र सोहीको पर्खाइमा बस्दा सफलता प्राप्त भएको प्रहरी नायव निरीक्षक कार्कीले बताए । प्रहरी नायव निरीक्षक कार्कीका अनुसार धनकुटाबाट धरान तर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा शनिवार बिहान १० बजे ५२ केजी गाँजा बरामद भएको हो ।

ठिक सोही क्षेत्रबाट गत फागुन ८ गते तेल बोक्ने ट्याङ्करमा ६०० केजी गाँजा बरामद भएको थियो ।गाँजा बरामद गर्ने टोलीको नेतृत्व पनि उनै प्रहरी नायव निरीक्षक कार्की नै थिए । धरानबाट धनकुटा तेल लिएर गएको को १ ख ७३२२  नम्बरको ट्याङ्कर केही समय पछि नै फर्किएपछि शङ्का लागेर हेर्दा भित्र ६ सय केजी गाँजा बरामद भएको प्रहरी नायव निरीक्षक जीवन कार्कीले बताए । खाली भएको टयांकरको आवाज र भरी भएको आवाज नै फरक हुन्छ त्यही आवाजलाई मध्यनजर गरेर चेकजाँच गरेको नसोचेको सफलता हात पर्याे कार्कीले भने ।

एम्बुलेन्सको हकमा भने त्यस्तो देखिएको थिएन । साइरन बजाए पनि भित्र बिरामी कोही नभएपछि चालकलाई बाहिर निकालेर सामान्य सोधपुछ गर्दा सुरुमा १ केजी मात्रै छ भनेर सिट मुनीबाट निकालेको प्रहरी नायव निरीक्षक कार्कीले बताए । पछि अन्य प्रहरीले एम्बुलेन्स भित्रै पसेर खोजतलास गरेपछि टुल बक्स राख्ने स्थानमा १ किलोको दरले प्याकेजिङ गरेको अवस्थामा ५२ वटा पोका भेटिएपछि एम्बुलेन्स सहित चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चेललाइ पनि नियन्त्रणमा लिएको थियो । पक्राउ एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिइएको छ भने चालकलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।

तराइमा अभियान चलाउँदा पहाड उक्लियो गिरोह

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तराइका विभिन्न जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाइरहेको छ । सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , सङ्खुवासभा , सिरहा , सप्तरी ,  लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान अहिले पनि जारी राखेको छ । सुगम क्षेत्रमा पहुँच पुग्ने सवालमा प्रहरीले स्थानीयको वाली प्रवेश गरी लगाएको गाँजा खेती नष्ट गर्ने गरेको छ ।

 नेपालमा सरकारद्वारा प्रतिबन्ध लगाइएको गाँजाको खेती हुन थालेपछि प्रहरीले अभियान नै सञ्चालन गरेर नष्ट गर्दै आएको छ ।  समुदाय–प्रहरी साझेदारी अभियान अन्तरगत कोसी प्रदेशको विभिन्न जिल्लामा यो अभियान हाल पनि सञ्चालनमा छन् । प्रहरीले हाल सम्म कति गाँजा खेती नष्ट गर्याे त्यो यकिन नभए पनि २६ बिगाहा भन्दा बढी जमिनमा लगाएको गाँजा खेती नष्ट गरिसकेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । तराईमा खेती मासिँदा प्रहरी र प्रशासनलाई त्यस क्षेत्रबाट गाँजा हराएको भान भएको थियो तर, त्यो पहाडतिर ‘सिफ्ट’ भएको भने हालसालै जानकारी प्राप्त भएको प्रहरी श्रोत नै बताउँछ ।

सुगम जिल्लालाई मात्र टार्गेट गरेर अभियान चलाइरहँदा गाँजा कारोबारीहरूले सतर्कता अपनाउँदै पहाडी भेग छिरेको अनुमान प्रहरी सँग छ । धनकुटाबाटै आएको तेलको ट्याङ्करबाट र एम्बुलेन्सबाट भारी मात्रामा गाँजा बरामद भएपछि पहाडी क्षेत्रमा अझै पनि गाँजा खेती चलायमान रहेको प्रहरी दाबी छ । तराइमा गाँजा खेती नष्ट हुन थालेपछि कारोबार गर्ने मुख्य गिरोहहरू पहाडी भेग उक्लिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एसपी सुमन कुमार तिम्सिनाले बताए ।

तेलको ट्याङ्करबाट गाँजा बरामद भए लगत्तै सम्बन्धित प्रहरी कार्यालयहरूलाई पहाडी भेगमा गाँजा खेती बारे जानकारी गराइसकिएको र पहाडको दुर्गम क्षेत्रमा पनि पुगेर गाँजा नष्ट गर्ने तयारी भइरहेको एसपी तिम्सिनाले बताए ।   गाँजालाई अफिम बनाउन भारत माहिर छ ।भारतमा यसको माग धान्न गाह्रो परेकै कारण त्यताका व्यापारीहरू पर्यटक बनेर नेपाल भित्रिने र पहाडी भेगहरूबाट गाँजा ल्याउने गरेको तथ्य हालै सार्वजनिक भइसकेको छ । नेपाली बजारमा प्रति किलो १५ देखि २० हजारले बिक्री हुने गाँजा भारतको बजारमा ४० हजार सम्म बिक्री हुने गरेको प्रहरी भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित