दादुरा-रुबेलाविरुद्धको खोप अभियान : रुपन्देहीमा ३ लाख १४ हजार ७३८ खोप लगाइने

भैरहवा / दादुरा-रुबेलाविरुद्धको खोप अभियान रुपन्देहीमा आजबाट सुरु भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न थालेको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आजदेखि चैत्र ७ गतेसम्म देश व्यापी रूपमा सो खोप अभियान ल्याएकाे छ ।

राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा-रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

पहिलो समूहमा दादुरा-रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले यस उमेरका कुनै पनि बालबालिका दादुरा-रुबेलाको खोप लगाउनबाट नछुट्ने गरी खोप लगाउने तयारीका साथ व्यवस्थापनमा जुटेको जानकारी दिए । रुपन्देहीमा दुई चरणमा गरी ३ लाख १४ हजार ७३८ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने उनले बताए । 

खोप अधिकृत शर्माका अनुसार पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गरी नौवटा पालिका र दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म गैडहवा, कञ्चन, सैनामैना, सममरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गरी सात पालिकामा यो खोप अभियान सञ्चालन हुनेछ ।

रुपन्देहीमा अभियान सफल बनाउन १ हजार एक सय खोप केन्द्र सञ्चालन गरिने छ भने २ हजार २ सय खोपदिने स्वास्थ्यकर्मी, ३ हजार ३ सय स्वयम्सेवक परिचालन गरिनेछ । यस्तै ३४ हजार ९३६ भायल भ्याक्सिन र ३ लाख ९१ हजार ५०४ वटा सिरिन्जको समेत व्यवस्था भइसकेको खोप अधिकृत शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाइने पालिकामा भ्याक्सिनबाहेकका अन्य आवश्यक सबै सामग्री पालिकामा पुगिसकेको छ।

खोप अधिकृत शर्माले दादुरा-रुबेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्ने भएको र यही किसिमबाट संक्रमण फैलिँदै गएमा महामारीको रुप लिने भएकाले कुनै पनि बालबालिका नछुट्ने गरी खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको हो । यो खोप थप मात्रा भएकोले पहिले नियमित खोप लगाएका बालबालिकाहरुले पनि अनिवार्यरुपमा लगाउनुपर्ने खोप हाे।

दादुरा-रुबेलाबाट तराईका जिल्लाका साथैं काठमाडौं उपत्यकाका बालबालिका बढी प्रभावित हुने भएकोले यी ठाउँका १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइने छ भने अन्य जिल्लाका ५ वर्षसम्मका बालबालिकाले यो खोप प्राप्त गर्नेछन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले दादुरा-रुबेलाबाट ५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने बताउँदै सरकारले सुरु गर्न लागेको अभियानबाट बालबालिकालाई नछुटाउन आग्रह गरे ।

आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङख्या  मन्त्रालय आग्रह गरेको छ । यस्तै ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित