इटहरीको जुत्ता मेलामा व्यवसायीको सिण्डिकेट , मेयर पाैडेलले उद्घाटन गर्न मानेनन् : पहिलो दिन नै ११ लाख घाटा

इटहरी ।  ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुक्रवार देखि सुरु भएको प्रथम जुत्ता चप्पल महोत्सवमा स्थानीय व्यवसायीले विरोध जनाएपछि मेला अन्यौल बनेको छ । इटहरीका व्यवसायी सँग कुनै छलफल र समन्वय नै नगरी मेला सञ्चालन गरेको भन्दै उद्योग वाणिज्य सङ्घमा उजुरी परेपछि मेला अन्यौल बनेको हो ।

उवासंघमा शुक्रवार दिउसो अबेर सम्म चलेको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि व्यवसायीहरू उपमहानगर पुगेका थिए । व्यवसायीहरूले मेयर हेम कर्ण पौडेललाई जुत्ता महोत्सवबाट इटहरीको व्यवसायमा पर्ने असर सम्बन्धी सुझाएपछि तत्काललाई उदघाटनको कार्यक्रम स्थगित गरिएको छ ।   मेला आयोजक र व्यवसायी दुवैलाई राखेर सहमति गराउने सिलसिलामा ठोस निर्णय ननिस्किएपछि व्यवसायीहरू उपमहानगर पुगेको इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुलीले बताए ।

 उवासंघको कार्यालयमा मेला तत्काल बन्द हुनुपर्ने व्यवसायीहरूले माग राखेको र बन्द नगर्ने अडानमा आयोजक बसेको कारण ठोस निर्णय नभएको अध्यक्ष पराजुलीले बताए ।  इटहरी  महोत्सव सञ्चालनको अनुमति दिएको स्थानीय सरकारका प्रमुख हेम कर्ण पौडेल आफैले उद्घाटन स्थगित भएको मेला आयोजकलाई जानकारी गराएका थिए । सबै तयारी सकिएर उद्घाटन गर्ने बेला प्रमुख अतिथि रहेका मेयर पौडेल आफैले उद्घाटन नगर्ने जानकारी दिएपछि मेला अन्यौल बनेको प्रथम इटहरी जुत्ता चप्पल महोत्सवका संयोजक होमनाथ उपाध्यायले बताए ।

इटहरीमा जुत्ता चप्पल व्यापार मेला चलिरहँदा स्थानीय व्यवसायीहरू प्रत्यक्ष मार्कामा पर्ने भएकोले उद्घाटनका कार्यक्रम तत्काललाई स्थगित गरिएको इटहरी उपमहानगरका प्रमुख हेम कर्ण पौडेलले बताए ।यता इटहरीका जुत्ता चप्पल व्यापारीहरूले पनि मेलाका कारण आफूहरूको व्यवसाय चौपट हुने बताए । इटहरी संगितचौक जुत्ता व्यवसायी दिनेश थापाले मेला बन्द हुनुपर्ने बताए । आफ्नो कहाँ जुत्ता किन्न आउने ग्राहकहरू मेलामै सस्तो पाइने त्यतैबाट किन्ने भन्दै हिडन थालेको व्यवसायी थापाले बताए । इटहरी मुख्य चौकका व्यवसायी अनीश दाहालले यहाँका व्यवसायीहरू सँग कुनै समन्वय नै नगरी बाहिरबाट आएर मेला लगाउँदा व्यवसाय धरासयी बनिने बताए ।

कोरोनाकाल पछि इटहरीको व्यापार व्यवसाय त्यसै पनि चौपट बनिरहेको बेला बाहिरबाट आएकाहरूले मेलाको नाममा व्यापार बिस्तार गर्न थालेपछि हामी कहाँ गएर व्यवसाय चलाउने दाहालले भने । यता सबै तयारी सकिएर उदघाटनको कार्यक्रम स्थगित भएपछि मेला सुरुवातको पहिलो दिन नै ११ लाख घाटा भएको आयोजकले बत्ताएको छ ।

 उदघाटनको लागि तयार पारेको स्टेज , फर्निचर,टेन्ट कुर्सी ,खाजा र डेकुरेसन गरेर ११ लाख घाटा भएको आयोजक कमिटीका संयोजक होमनाथ उपाध्यायले बताए । मेला राखिसकेपछि कारोबार हुनुपर्छ भन्ने अडान आयोजकको रहेपनि केही व्यवसायीले विरोध जनाएको उनले बताए । विरोधका बाबजुद मेला भने सञ्चालन अवस्थामै रहेको छ । इटहरीको पश्चिम लाइनमा सञ्चालन भइरहेको मेलामा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित