विराटनगर महानगर क्षेत्रभित्र फागुन १३ देखि दादुरा–रुबेलाको खोप लगाइने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित सरोकारवालाको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य महाशाखाले खोप अभियानको तयारीका बारेमा जानकारी गराएको छ । 

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताउनुभयो । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिनुभयो । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् । 

खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित जना परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताउनुभयो । उहाँका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गर्नुभयो । अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित