कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति , पुनः नामाङ्कनबारे जुटेन सहमति

इटहरी । कोशी प्रदेशको सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिको फेरि तीन बुँदे सहमति भएको छ । विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच तीन बुँदे सहमति गरेको हो ।

सरकारी वर्ता टोली र पहिचान पक्षधरबीच प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्ता सम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत भयो र सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फाल्गुन मसान्तभित्र कार्यान्वयन गर्ने र  पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको हो ।

गत माघ २६ गते सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति भएको थियो । प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने, आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने,  पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने र अर्को वार्ता फागुन १० गतेभन्दा अगाडि बस्ने निर्णय भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित