सीतापाइला सामुहिक हत्या प्रकरण : काजीको भेटियो भिडियो सन्देश : श्रीमती, छोरी र नातिनीको हत्या गरी छोरालाई खिचाए भिडियो

काठमाडौं । काठमाडौंको सितापाइलामा चार जनाको ज्यान गएको घटनाको मूख्य कारण श्रीमान–श्रीमतीबीचको अविश्वास र विवाहेत्तर सम्बन्ध रहेको प्रहरीले जनाएको छ। फागुन ९ गते बिहान पौने ९ बजे सितापाइलामा ३७ वर्षीय राजु घिमिरे भनिने काजी विश्वकर्माले पत्नी ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, आठ वर्षकी छोरी अनिसा र दुई वर्ष पाँच महिनाकी नातिनी सिवानीको हत्या गरी आफू समेत नजिकैको जंगलमा गएर झुन्डिएर आत्महत्या गर्नुको कारण श्रीमतीप्रतिको अविश्वास विवाहेत्तरको सम्बन्ध नै रहेको छ।

श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेका विश्वकर्माले छोरालाई भिडियो रेकर्ड गरेर आत्महत्या गरेका थिए। उनले भिडियो रेकर्डमा भनेका छन्– ‘मैले हिजो बेलुका भनेको काम गरिसकेको छु। मैले भनेको सबै कुरा भइसक्यो। यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन। रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ (बुहारी जेनिशा)। तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन। तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ। मैले बाँचेर गरी खाने ठाउँ भएन। त्यही भएर मैले यस्तो निर्णय गरेको छु। तिमीहरू मिलेर गरिखानू। ममीजस्तो भएर नहिँड्नु। त्या अनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु। अनिशबाट तैँले लिनु, कसैलाई पनि नदिनु चाबी। सुन सबै दराजमै छ। अनिशलाई हेला नगर्नू,नत्र राम्रो हुँदैन।’

उनले घटनापछि गेटबाट बाहिर निस्कँदै गर्दा पसलमा सामान किनेर फर्किरहेका १५ वर्षका छोरा अनिशलाई भिडियो रेकर्ड गराएका थिए। उनीहरुको विवाद धेरै पटक प्रहरी कार्यालयमा पुगेर पनि मिल्न नसकेको अवस्थामा यस्तो घट्ना घटेको प्रहरीको दावी छ। ‘थुप्रै पटक यो विवाद प्रहरी कार्यालयसम्म पुगेको समेत देखिएको छ’, जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता एसपी नवराज अधिकारीले भने। काजीले प्रहरी वृत्त स्वयम्भूमा प्रेमकुमारीलाई अर्को पुरुषले जबरजस्ती करणी गरेको भन्दै उजुरी समेत दिएका थिए। प्रेमकुमारीले पछि जबरजस्ती करणी गरेको आरोप लागेकै केटासँग विवाह गर्छु भन्न थालेपछि घरायसी झगडा चरम अवस्थामा पुगेका थियो।

प्रहरीका अनुसार प्रेमकुमारीको काजीसँग दोस्रो विवाह हो। काजीसँग विवाह गर्दा प्रेमकुमारीको अघिल्लो पतिबाट एक छोरा थिए, जो अहिले विदेशमा छन्। विदेशमा भएको छोरोपट्टिकी बुहारी भने बाहिर काममा गएकाले सकुशल छन्। सामान किन्न पसल गएको छोरासँग भेट भए पनि काजीले उनलाई केही गरेनन्। काजी डकर्मीको काम गरेर जीवन निर्वाह गर्दै आएको र प्रेमकुमारी भने गृहणीको रुपमा थिइन। परिवारका तीन सदस्यको हत्या गरेका काजीले छोरालाई भिडियो खिच्न लगाएर आफू हिडेका थिए।

उनले डोरी लिएर निस्किएका सालीलाई पनि फोन गरेर आफूले सबैलाई मारेर मर्न निस्केको बताएका थिए। त्यसक्रममा सालीले गलत काम नगर्न सम्झाएकी भएपनि छोराको राम्रो रेखदेख गर्न भनेका थिए। प्रहरीका अनुसार उनीहरुबीच एकअर्काका बाहिरी सम्बन्धलाई लिएर बारम्बार झगडा हुने गरेको थियो । २÷३ वर्ष पहिले पनि उनीहरुको झगडाले उग्र रुप लिएको थियो। ईश्वरीको अरु पुरुषसँग सम्बन्ध रहेको भन्दै काजीले शंका गर्थे। त्यहीकारण घरमा उनीहरुको झगडा चलेको थियो। झगडापछि ईश्वरीले विष खाएको र अस्पताल लगेर बचाइएको थियो। यो विषयमा इश्वरीको माइती पक्षलाई समेत थाह भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित