चीनमा अनौठो मौसम : एकातिर बालुवाको आँधी, अर्कोतिर भयानक हिमपात

काठमाडौं / चीनको मौसम विभागले आइतवार तीनवटा अलग-अलग अलर्ट जारी गर्‍यो। तीनवटै एकपछि अर्को गर्दै जारी गरिएका थिए । पहिलो तापमानमा तीव्र गिरावटको थियो । दोस्रो भयानक हिमपातको थियो र तेस्रो बालुवाको आँधीको थियो। अहिले चीनमा नयाँ वर्ष पर्व चलिरहेको छ । मानिसहरु आ–आफ्नो घरतिर लागेका छन् । यस्तोमा यात्रुहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले भयानक जाडो आउन लागेको जनाएको छ । यसका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ । यो दोस्रो स्तरको सबैभन्दा खतरनाक चेतावनी हो। तापक्रममा ठूलो गिरावट आएको छ र भविष्यमा पनि जारी रहनेछ ।

त्यहाँ कम्तिमा ८ देखि १२ डिग्री सेल्सियसको गिरावट हुनेछ। विशेष गरी उत्तरी चीन, भित्री मंगोलिया, उत्तर-पूर्वी चीन र मध्य भागका केही भागहरूमा यस्तो हुनेछ । उदाहरणका लागि, हुबेई र हुनान प्रान्तहरूले गम्भीर हिमपात र कम तापक्रमको सामना गर्नुपर्नेछ।

यो जाडो मौसममा बालुवाको हावाहुरी पनि आएपछि अवस्था नाजुक बन्यो । बलियो हावा संग बालुवाको तूफान आएको हो । हावा यति बलियो थियो कि मानिसहरु सडकमा लडिरहेका थिए । हावाले तिनीहरूलाई टाढा हुत्याइरहेको थियो। यसका भिडियोहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । बालुवाको आँधीले उत्तरपश्चिमी राज्य सिनजियाङमा विपत्ति ल्याएको छ ।

यसले गान्सु, किङ्घाई र शिजाग स्वायत्त क्षेत्रहरूलाई पनि असर गरेको छ। त्यसैगरी, सिन्जियाङको तापक्रम अत्यन्तै कम छ। अल्टा नामक ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसले घटेको छ । तापक्रम माइनस ५२.३ डिग्री सेल्सियस पुगेको छ । यो सन् १९६० जनवरी २१ यता सिन्जियाङको सबैभन्दा कम तापक्रम हो। यो नयाँ रेकर्ड हो।

ट्राफिक नियन्त्रण नहुँदा गान्सु प्रान्तको जिउक्वान सहरमा ४० हजारभन्दा बढी पर्यटक अलपत्र परेका छन् । उनीहरूले हिमपात, बालुवाको आँधी, बलियो र सुख्खा हावाको सामना गर्नुपरेको थियो। मानिसहरूलाई राजमार्ग र द्रुतमार्गहरूमा जान निषेध गरिएको थियो। चीन सरकारले ४२ हजार ९२९ जनालाई बचाउन आपतकालीन सेवा सुरु गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित