भोजपुरको पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त घोषणा

भोजपुर । भाेजपरकाे पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । यहाँका छ वटै वडालाई बालश्रम मुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई  सरोकारवाला पक्षको उपस्थितिमा आइतबार बालश्रम मुक्त घोषणा गरिएको हो । भोजपुरका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको हो । घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थानीय तह बनेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विश्वश्रम संगठनको एआर सी प्रोजेक्ट र गाउँपालिकाको सहकार्यमा  बालश्रम मुक्त घोषणा गरिएको हो । गाउँपालिकाले विश्वश्रम संगठनसँग सम्झौता गरेर दुई वर्षअघिबाट बालश्रम मुक्त घोषणाका लागि काम थालनी गरेको थियो । घोषणाको लागि प्रत्येक वडामा गणकहरु खटाएर तथ्याङ्क संकलन गर्दा  बालबालिकाहरु बालश्रममा नरहेको पाइएपछि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।
 
 घोषणा पूर्व यहाँका बालश्रमको जोखिममा पर्न सक्ने १८ वर्ष मुनिका बालवालिकाको तथ्याङ्क राखेर आवश्यक सचेतना तथा सहयोगको कार्यक्रम सञ्चालन गरिएको छ । उनीहरुलाई बालश्रममा लाग्नबाट टाढा राख्नको लागि सवै वडामा रहेका बालबालिकाहरुको वडाबाट विवरण तयार गरिएको छ । उनीहरुलाई परिवारिक सहयोगसँगै विद्यालय प्रोत्साहन कार्यक्रम तथा अन्य सहयोग गर्न सकेमा  बालश्रमको जोखिमबाट बचाउन सकिने अनुगमनसमितिले सुझाव दिएको छ ।

बालश्रम मुक्त घोषणाको लागि वडास्तरमा अनुगमन समितिले यहाँको अवस्थाको बारेमा आवश्यक प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा बालश्रमको जोखिममा पर्न सक्ने बालबवालिको विवरणसमेत समेटिएको छ । प्रतिवदेनमा समेटिएका जोखिममा पर्न सक्ने बालवालिकालाई गाउँपालिका तथा वडा कार्यालयले थप सचेनतासँगै आवश्यक सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । घोषणा पश्चात यहाँका बालबालिकालाई श्रमबाट बचाउन थप कार्यक्रम सञ्चालन गरिने उनकाे भनाइ छ ।

यहाँका विभिन्न वडामा एक सय १८ जना बालबालिका विद्यालय बाहिर रहेकोले बालश्रमको जोखिमबाट बचाउन उनीहरुलाई विद्यालय फर्काउने अथवा अन्य विकल्पको खोजी गरेर भावी योजनालाई अघि बढाउनु पर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन । पौवादुङमा गाउँपालिका बालश्रम मुक्त घोषणा गर्ने कोशी प्रदेशको दोश्रो स्थानीय तह बनेको अध्यक्ष किरण राईले बताए । अथक मेहनत पश्चात गाउँपालिकालाई बालश्रम मुक्त घोषणा सफल भएको उनकाे भनाइ छ । घोषणा पश्चात पनि बालश्रमको जोखिममा पर्न सक्ने बालबालिकाको घर÷घरमा पुगेर आवश्यक विवरण संकलन गरेर उनीहरुलाई जोखिमबाट बचाउन थप काम गर्ने अध्यक्ष राईले बताए । 

प्रतिक्रिया

सम्बन्धित