उर्लाबारीमा किशोरी अचेत भेटिइन, रिसोर्ट सञ्चालक पक्राउ

मोरङ / मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले एउटा रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारीमै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ ।

स्थानीयले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनास्थलमा पुगेर किशोरीको उद्धार गरेको थियो । उद्धार गर्दै उनलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर ल्याइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको पत्ता लागेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारपछि केही थाहा नपाउने अवस्थामा पुगेकी उनलाई गाईगोठमा पुर्याएर छाडिएको यकिन भयो । त्यसअघि प्रलोभनमा पार्दै एउटा होटलमा लगेर बलात्कार गरेको खुलेको छ ।

किशोरीलाई गाईगोठमा छाडेर फरार भएका उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको दाहालले बताए । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक रहेको प्रहरीको भनाइ छ । किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित