लागुऔषध दुर्व्यसनी र यौन क्रियाकलापको अखडा बन्दै इटहरी रङ्गशाला

बाहिर चिटिक्क , भित्र भद्रगोल

इटहरी ।  सुनसरीको इटहरीस्थित प्रादेशिक रङ्गशाला उचित व्यवस्थापनको अभावमा पछिल्लो समय लागुऔषध दुर्व्यसन र अवैध यौन क्रियाकलापको अखडा बन्न पुगेको छ । निर्माण कम्पनीले समयमै काम सकेर सम्बन्धित पक्षलाई हस्तान्तरण नगर्नु र जिम्मेवार निकायले पनि एक अर्काको भर पर्दा रङ्गशाला अहिले लागुऔषध दुर्व्यसनी र यौन लीला मच्चाउने अखडा बन्न पुगेको हो ।

करिब २२ करोड लगानीमा निर्माण सम्पन्न भए पनि यसको उचित रेख देख र व्यवस्थापन खडकिदा आफैमा लाजमर्दो स्थिति बनेको छ । खेलकुद सँग सम्बन्धित सबै पूर्वाधार निर्माण भइसकेपनि रङ्गशाला रेख देख गर्ने जिम्मेवार निकाय कुन हो भन्ने विषय नै अलमलमा परेको छ ।  जिल्ला खेलकुद विकास समिति सुनसरीले रङ्गशाला निर्माण पछि त्यसको संरक्षणको दायित्व इटहरीस्थित राष्ट्रिय जागृती क्लबलाई सुम्पिएको बत्ताउँछ ।

विगतमा राजा क्लबले यसको रेखदेख गर्दै आएपनि पछिल्लो समय यसको व्यवस्थापन स्थानीय सरकारले नै चासो र संरक्षण गर्नुपर्ने भन्दै दायित्वबाट पन्छिएको छ ।  कुनै निकायबाट उचित व्यवस्थापन र रेखदेख नभएपछि पछिल्लो समय रङ्गशाला लागुऔषध दुर्व्यसनी र यौन लीला मच्चाउने अखडा बनेको हो ।  करोडौँको लगानीमा निर्माण गरिएको रङ्गशाला संरक्षणमा कसैले पनि चासो नदिँदा  अहिले झारै झारले कुरूप बनेको छ भने केही भौतिक संरचनाहरू पनि भत्किनुका साथै भवनका झ्यालका सिसा तथा ढोकाहरू फुटेको देख्न सकिन्छ ।

महोत्सव तथा कुनै खेलकुदका कार्यक्रम गर्दा मात्रै चिटिक्क सज्जीने इटहरी रङ्गशाला अरू बेला बेवास्तामा पर्ने गरेको छ । त्यस्तै खेलकुद सँग जोडिएका भवनहरूको पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । सँगै बनेका कतिपय भवनहरू अझै पनि प्रयोगविहीन बनेका छन् भने मानव मलमूत्र पनि सोही भवन भित्रै हुनेहुदा दुर्गन्ध पनि त्यस्तै आउने गरेको छ । पहिलाको जस्तो अहिले खेलकुद पनि नभएकोले लथालिङ्ग भएको हुन सक्ने स्थानीयहरू बताउँछन् ।

इटहरी ४ का लालदिप श्रेष्ठ रङ्गशालाको उचित रेखदेख स्थानीय सरकारबाट हुनुपर्ने बताउँछन् । यो इटहरीको गौरव र सम्पत्ति भएकोले स्थानीय सरकार अभिभावक भएको नाताले यसको रेखदेख र संरक्षणको दायित्व पनि इटहरी सरकारले नै लिनुपर्ने उनको धारणा छ ।

रङ्गशालाको अवस्था देखेर बिहान मर्निङ वाक जानेहरू नै हैरान बनेका छन् । नेपालीमा एक उखान छ हेर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै रङ्गशालाको अवस्था छ । रङ्गशालामा हुनै अवैध क्रियाकलाप बारे प्रहरीमा पनि गुनासो नपुगेको हैन । सर्वसाधारणबाट आएको गुनासोलाई मध्यनजर गर्दै  प्रहरीले गएको पुस पहिलो साताबाट सो क्षेत्रमा नियमित गस्ती पनि गर्ने गरेको छ ।

गस्तीकै क्रममा प्रहरीले पुस पहिलो साता देखि हाल सम्म ६ जनालाई नियन्त्रणमा लिएर छाडिसकेको छ । ठेकेदार कम्पनीबाट निर्माण सम्पन्न भइसकेमनि सम्बन्धित पक्षलाई हस्तान्तरण गर्न ढिलाइ भएकोले यो समस्या आएको जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दीपक राईले बताए । उनले इटहरी रङ्गशालाको सम्पूर्ण रेखदेखको जिम्मा इटहरीकै सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृती क्लबलाई दिएको पनि बताए । यता जागृती क्लबका हर्ताकर्ता अनुरोध थापा सँग सम्पर्क गर्दा उनले सक्दो रेखदेख र संरक्षण गर्दै आएको दाबी गरे । त्यस्तै इटहरी उपमहानगरमा सम्पर्क गर्दा सम्बन्धित पक्षबाट रेखदेखकालागि अनुरोध नआएको तर पनि स्थानीय सरकारको हिसाबले प्रहरी सँग समन्वय गरी रेखदेख र संरक्षण गर्दै आएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित