सुनसरी र माेरङमा माओवादीकाे चन्दा आतंक : बिराटनगरमा बम भन्दै कुकर भित्र इटा राख्ने दुई जना पक्राउ

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी हुन्।

उनीहरुले विगत केही समयदेखि मोरङ लगायतका जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा चन्दा माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वांसात्मक कार्य समेत गर्ने धम्की दिएको प्रहरीले जनाएको छ।

चन्दा माग गरिरहेको सूचनापछि सादा पोसाकमा ब्यापक प्रहरी खटाइएको थियो। सीसीटीभी फुटेजका आधारमा धाकधम्की दिई जबरजस्ती चन्दा माग गर्ने समूहको पहिचान गरिएको र पक्राउ गरेको प्रहरीले जनाएको छ।

चन्दा अशुल गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। उनीहरुले शैक्षिक संस्थाहरुलाई त्रसित बनाउन प्रेशर कुकरमा बम बनाई विराटनगर महानगरपालिका ३ स्थित घरेलु तथा साना उद्योग कार्यालय परिसर नजिकै राखेका थिए।

कार्यालयबाट २०० मीटर पश्चिममा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो देखिने विष्फोटक पदार्थ राखेको भेटिएको थियो। मोरङ जिल्लामा तैनाथ भैरव गण थलाहाबाट खटिएका बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेका थिए । विराटनगर ३ भुपि मार्गमा भेटिएको कालो टेपले बाँधिएको प्रेसरकुर भित्र साबुन, ईट्टा र ढुङ्गा लगायतका समान फेला परेको थियो ।

प्रविण मिश्रको साथबाट प्रहरीले बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सोडा बरामद भएको छ।

सहयोग रसिदको ठेली २ थान, खाली खाम ४ थान, आर्थिक सहयोग सम्बन्धी लेखिएको महावीर महासचिव भन्ने नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको पत्र ५ थान, मुक्ती नाथ प्रकासन गृहको प्रेस आईडी कार्ड, डायरी र मोबाइलहरू बरामद भएको छ।

विपिन अधिकारीले साथबाट काटिएको रसिदको ठेली एउटा र नकाटिएको सहयोग रसिद ठेली एउटा बरामद भएको छ।आर्थिक सहयोग सम्बन्धी लेखिएको महावीर महासचिव भन्ने नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको पत्र ४ थान, मुक्तिनाथ प्रकासन गृहको प्रेस परिचयपत्र बरामद भएको छ। डायरी थान १, नेपाल एसबीआई बैंकको चेकबुक १ थान, डिजिटल स्टाम्प १ थान तथा मोबाइल र सिम बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित