विराटनगर महानगरबाटै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति सुरु

विराटनगर । विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गर्नुभयो ।

वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विराटनगर महानगरपालिकाबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु गरिएको महानगरको रोजगार शाखाका इन्जिनियर कपिल थापाले जानकारी दिनुभयो । 

२०७९ चैत १६ गतेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहको रोजगार शाखाबाट सेवा प्रवाह गर्ने कार्य सुरु गरिएको उपमेयर कार्कीले बताउनुभयो । स्थानीय तहबाट श्रम स्वीकृति सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेहरूका लागि सहज भएको उहाँको भनाइ थियो । 
 

प्रतिक्रिया

सम्बन्धित