एमालेका महासचिव शंकर पोखरेल सवार गाडी सडकमै दुई बल्ड्याङ , भन्छन् भाग्यले बाचियो

इटहरी । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी पल्टिए पनि मानवीय क्षति हुनबाट जोगिएको छ। दैलेखमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि जाँदै गर्दा महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजारनजिक पल्टिएको हो।

तर पनि महासचिव पोखरेलसहित जिपमा सवार सबै नेता सुरक्षित रहेको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्। ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’, उपमहासचिव रिमालले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो (शनिबार) दैलेख जाने क्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जिप दुर्घटनामा पऱ्यो। यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन। सबै सुरक्षित हुनुहुन्छ।’

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार दुर्घटनापछि महासचिव पोखरेल दैलेख बजार पुगी पार्टीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरी काठमाडौँ फर्किसकेका छन्। उनका अनुसार गाडीमा सवार महासचिव पोखरेल, केन्द्रीय सदस्य दीपा शर्मा र प्रदेश सचिव ध्रुव शाहीलाई केही भएन भने प्रदेश उपसचिव पद्मा खड्काको हातमा चोट लागेको छ।

प्रतिक्रिया

सम्बन्धित