बरगाछि दुर्घटना अपडेट : तिन घण्टा पछि स्थिति साम्य, दुहबीका २५ वर्षीय नगेन चौधरीको मृत्यु

इटहरी । विराटनगरस्थित बरगाछी चोकमा ट्रकको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ ।

 गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ ।

 दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ। भने आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।  दुर्घटनापछि केही समय कोशी लोकमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी छेदीलाल कामती,वडा प्रहरी कार्यालयबाट डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्सपेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोकमार्ग खुलाएका छन्।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित