कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै : पाँचजना मन्त्री थपिने : काे काे बन्दैछन् मन्त्री ?

इटहरी । कोशी प्रदेशमा सरकार गठनको चार महिनापछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्तागठबन्धनमा भागबन्डा मिलेपछि कोशी प्रदेशमा आज पाँचजना मन्त्री थपिँदै छन्।

शुक्रबार ४ बजे मन्त्री नियुक्त हुने सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए। उनका अनुसार कांग्रेसबाट एक राज्यमन्त्रीसहित तीनजना र माओवादी दुईजना मन्त्री आज थपिँदै छन्। 

कांग्रेसबाट प्रदीप सुनुवार स्वास्थ्यमन्त्री, रामकुमार खत्री, उद्योग, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा छन्। यस्तै, माओवादी केन्द्रबाट खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा नारायण बुर्जा मगर र सामाजिकमन्त्रीमा राजेन्द्र कार्की रहेको प्रवक्ता राईले जानकारी दिए। 

साढे ४ बजेका लागि नवनियुक्त मन्त्रीहरूकाे शपथका तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइएको प्रदेश प्रमुख परशुराम खापुङका स्वकीय उपसचिव निदेश दंगालले जानकारी दिए। 

हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भाैतिक पूर्वाधार मन्त्री छन् ।

 

प्रतिक्रिया

सम्बन्धित